बुटवलमा पनि डोजर लगाइयो
बुटवल उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर लगाएको छ । स्थानीय दुर्गा टोलमा रामप्रसाद गैरेले बनाएको अवैध संरचनामा मेयर खेलराज पाण्डेको निर्देशनपछि उपमहानगरले डोजर चलाएको बताइएको छ ।
गैरेले कालिकापथदेखि पूर्वतर्फ जाने १२ फुटे बाटो ओगटेर भवन निर्माण गरेपछि २०७६ सालदेखि स्थानीयले विरोध जनाएका थिए । स्थानीय माधव पछाई, विक्रम रिजाल, दधिराम भट्टराई, माधवप्रसाद भट्टराई, प्रशान्त भट्टचनलगायतले बुटवल उपमहानगरपालिका धेरै अगाडि उजुर गरेका थिए । २०७८ माघ १० गते एक हप्ताभित्र (माघ १६ गतेसम्म) सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना खाली गर्न तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले लिखित निर्देशन दिएका थिए ।
तर सार्वजनिक जग्गा मिचेर संरचना बनाएका रामप्रसाद गैरेकी पत्नी तीता गैरेले बुटवल उपमहानगरपालिका, उपमहानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती र वडा नम्बर ११ कार्यालयलाई विपक्षी बनाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा २०७८ माघ १३ गते रिट दर्ता गराइन्् । उक्त रिटमाथि फैसला गर्दै अदालतले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतले संरचना भत्काउन आदेश दिन नमिल्ने आदेश दिएको थियो ।
भवन संरचना सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ मा अख्तियारी र कार्यविधि सम्बन्धी नियम अललम्बन गरेर उपमहानगर प्रमुखले संरचना भत्काउन निर्देशन दिन मिल्ने व्यवस्था छ । अदालतको आदेशपछि उक्त समस्या यथावत रहेको भन्दै विवाद समाधानका लागि स्थानीयले उपमहानगरमा गत चैत्र १२ गते पुनः अर्को निवेदन दर्ता गराई न्याय मागेका थिए । सोही निवेदनबमोजिम उपमहानगरको प्राविधिक टोलीले स्थलगत निरीक्षणपछि छ फिट बाटो मिचेर टहरा बनाएको निश्कर्ष निकालेको हो ।
सोही निश्कर्ष र उच्च अदालत तुलसीपुर बुटवल इजलासले दिएको आदेशलाई आधार मान्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ अनुसार उपमहानगर प्रमुखले संरचना अटाउन आदेश दिन मिल्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको २०७९ चैत्र १५ गतेको टिप्पणी आदेशमा उल्लेख छ । मेयरले थप कानुनी रायबमोजिम पेश गर्न पुनः प्रमुख प्रशासकीय अधिकृतलाई आदेश गर्दै स्पष्ट निर्णय नगरेपछि पीडितहरु निराश बनेका थिए ।
तर पीडितहरुको निरन्तर दबाबपछि मेयरले अन्तिममा संरचना भत्काउन आदेश दिएका हुन् । उपमहानगरले हिजो दिउँसो उक्त अवैध संरचनामा डोजर चलाएको हो । संरचना हटाएपछि टोलमा सडक विस्तारको निम्ति मार्ग प्रशस्त भएको छ ।
टिप्पणीहरू