उत्तर कोरियाले बनायो उत्तर कोरिया–नेपाल संसदीय मैत्री समूह
सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङमानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सभामुखको कार्यकक्ष संसद सचिवालयमा भेट भएको हो ।
भेटमा नेपाल र उत्तर कोरियाबीच द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदानलगायत विषयमा छलफल भएको बताइएको छ । साथै, कोरियाली प्रायद्विपमा बढ्दै गएको राजनीतिक घटनाक्रमबारे पनि भेटमा चर्चा भएको जानकारी दिइएको छ ।
सभामुख घिमिरेले कोरियाली संसदमा उत्तर कोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुशी लागेको बताउनुभयो । अब नेपालको संसदमा पनि नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी सभामुखले राजदूतलाई गराउनुभएको छ ।
राजदूत जोले सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
टिप्पणीहरू