विद्युत प्राधिकरणका इञ्जिनियर करोडौं  भ्रष्टाचारमा तानिए

विद्युत प्राधिकरणका इञ्जिनियर करोडौं  भ्रष्टाचारमा तानिए

नेपाल विद्युत प्राधिकरणका तत्कालिन मेकानिकल इञ्जिनियर कृष्णप्रसाद यादवमाथि भ्रष्टाचार अभियोग लागेको छ । 

यादवले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ बिगो भराउन माग गर्दै विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

प्राधिकरणका तत्कालिन मेकानिकल इञ्जिनियर यादव २०४८ साल फागुन सेवामा प्रवेश गरेका थिए । उनीमाथि उजुरी परेपछि अख्तियारले २०७९ जेठ ९ गतेसम्मको सम्पत्ति छानबिन गर्ने क्रममा एक करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ बराबरको सम्पत्ति स्रोत नखुलेको भेटिएको अख्तियारले जनाएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनकी पत्नी मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण, सेयर खरिदलगायतमा खर्च गरिएको पाइएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम मञ्जुदेवीलाई प्रतिवादी कायम गरी उक्त रकम जफत गर्न समेत मागदाबी गरेको छ ।

टिप्पणीहरू