सूचना आयोगको तीन महिने कार्य विवरण सार्वजनिक

सूचना आयोगको तीन महिने कार्य विवरण सार्वजनिक

राष्ट्रिय सूचना आयोगले तीन महिनाको कार्य विवरण सार्वजनिक गरेको छ । आयोगले गत चैत, वैशाख र जेठ महिनामा गरेका मुख्य-मुख्य कामको विवरण सार्वजनिक गरेको हो ।  

आयोगकी प्रवक्ता कमला ओली थापाले सो अवधिमा भ्रमण, अभिमुखीकरण, तालिमलगायतको कार्य भएको बताएकी छिन् । सन् २०२३ मे २४ मा नेपाल भ्रमणमा आएका श्रीलंकाका प्रमुख सूचना आयुक्तसहितको प्रतिनिधिमण्डलबीच सूचनाको हक कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया भएको उनको भनाइ छ । उनका अनुसार दुई मुलुकको सूचना आयोगबीचमा आपसी सहयोगसम्बन्धी समझदारी गर्ने विषयमा पनि सहमति भएको छ । 

त्यस्तै, गत चैतमा दैलेखमा सूचनाको हकसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको र वैशाखमा मुस्ताङ, पर्वत, स्याङ्जा र पाल्पामा अन्तरक्रिया कार्यक्रम गरिएको उनले जानकारी दिइन् । 

चैतमा ५८, वैशाखमा ४३ र जेठमा ६५ वटा पुनरावेदन दर्ता भएको उल्लेख गर्दै उनले यस आर्थिक वर्षको हालसम्म एक हजार ५३ वटा पुनरावेदन दर्ता भएको बताइन् । त्यसैगरी, सूचना उपलब्ध गराउनु भनि चैतमा १३४, वैशाखमा ९६ र जेठमा ५६ वटा आदेश भएको आयोगले जनाएको छ । 

फिलिपिन्सको राजधानी मनिलामा १९ जुनदेखि भएको ‘इन्टरनेशनल कन्फरेश अफ इन्फरमेशन कमिस्नर आईसीआईसी’ को १४ औं सम्मेलनमा भाग लिन पुगेका आयोगका प्रतिनिधिहरुले आईसीआईसीको कार्यकारिणी समितिको रिक्त पदका लागि नेपालको तर्फबाट दक्षिण अफ्रिका, जर्मनी, बंगलादेश र केन्यालाई मतदान गरेको बताइएको छ ।

टिप्पणीहरू