काठमाडौं–बेइजिङ सिधा उडान शुरु
आजदेखि काठमाडौं–बेइजिङ सोझो हवाई उडान प्रारम्भ भएको छ । बिहान काठमाडौंबाट प्रस्थान गरेको हिमालय एअरलाइन्सको विमान बेइजिङ पुगेको छ ।
उडान नम्बर एच नाइन ६६५ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजेर ४० मीनेटमा प्रस्थान गरेको थियोे । उक्त विमान बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मीनेटमा अवतरण भएको हो ।
चार घण्टा ४५ मीनेटमा बेइजिङ पुगेको विमान स्थानीय समयअनुसार दिउँसोे ३ बजेर २५ मीनेटमा काठमाडौं प्रस्थान गर्दैछ । उताबाट उडेको विमान काठमाडौंमा साँझ ६ बजेर ३० मीनेटमा अवतरण हुनेछ ।
आजको उडानमा छोरीको बिहेका लागि आउनुभएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ बेइजिङ जानुभएको छ ।
आजदेखि काठमाडौं र बेइजिङबीच नियमित उडान सञ्चालन भएको हिमालय एअरलाइन्सले जनाएको छ । यसबाट बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुलाई सहज र प्रभावकारी यात्राको विकल्प हुने एअरलाइन्सको दाबी छ । यो उडानले नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने बताइएको छ ।
काठमाडौं र बेइजिङबीचको उडान शुरु गर्न पाउँदा हर्षित भएको बताउँदै एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यस क्षेत्रका दुई प्राचीन राजधानीलाई जोड्न र दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्नसमेत यसले प्रभावकारी भूमिका निर्वाह गरेको छ ।’
टिप्पणीहरू