हाफप्यान्ट लाएर सिडियो कार्यालय छिर्नेलाई सजायँ,सँस्कार सिक अनि बल्ल पासपोर्ट
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हाफप्यान्ट लगाएर सरकारी कार्यालय प्रवेश गरेको निहुँमा एक जनालाई सेवाबाट वञ्चित गराएको छ । आज बिहान पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक पुगेका ती युवकलाई सभ्य पोशाक लाएर आउन भनिएको छ ।
पासपोर्टको निम्ति पुगेका उनलाई प्रमुख जिल्ला अधिकारीले नै ड्रेस कोड सम्झाएका हुन् । जिल्लाका केही युवा नेताले भने प्रशासनको उक्त रवैयाप्रति असहमति जनाएका छन् । युवा नेता बदन भण्डारीले उक्त कार्यलाई ‘नाटक’ को संज्ञा दिए ।
भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्,‘हाफप्यान्ट लगाएर जिल्ला प्रशासन कार्यालय जानेलाई सेवा दिइएन : काभ्रे जिल्ला प्रशासनले आज बिहान हाफप्यान्ट लगाएर सेवा लिन आउन नमिल्ने भन्दै एक युवालाई फर्काइदिएको छ । ती युवा पासपोर्टको कामको लागि बिहानै अफिस पुगेका थिए । यो कानुन संगत छ त ? जानकारहरुले बताइदिन पर्यो । मेरो बुझाइमा यो विषय निन्दनीय छ । अलि नाटक भएन र भन्या ?’
उक्त कुरा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पनि स्वीकार गरेका छन् । ‘मैले राम्रो पोशाक लगाएर आउनु भनेको हो । अरु खासै त्यस्तो भनेको छैन,’ उनले बताए ।
तर, सामाजिक सञ्जालमा धेरैजसोले पोशाकको कुरो उठाएर प्रशासनले सर्वसाधारणलाई दुःख दिएको आरोप लगाएका छन् । उनीहरुले भनेका छन्, ‘मर्यादित पोशाकको कुरो गर्ने हो भने,ग्रामीण भेगबाट आउने गरिब र निमुखा किसानले लगाउने कछाडलाई के भन्ने ?’ यता कर्मचारी वृत्तले भने कम्तीमा मर्यादित पोशाक लगाएर सरकारी कार्यालय जाने नियम बनाउनु समाजको लागि पनि राम्रो हुने प्रतिक्रिया दिएको छ ।
टिप्पणीहरू