गृहमन्त्री लागुपदार्थविरुध्दको र्यालीमा, ९ केजी चरेश विमानस्थलमा
आज बिहान टर्कीको इस्तानबुल हुँदै स्वीटजरल्याण्ड जान लागेका एक जना यात्रुको साथबाट ९ केजी चरेश फेला परेको छ । टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ बाट इस्तानबुल जान लागेका मोल्दोभाका नागरिक ४३ वर्षे डेनिस कुसेरिभीको ब्यागेजबाट उक्त परिमाणको चरेश फेला परेको हो ।
बिहान सुरक्षा जाँच र अध्यागमन प्रक्रिया पूरा गरेर विमानस्थलको वेटिङ हलमा बसेका डेनिसको झोला परीक्षण गर्ने क्रममा प्रहरीले उक्त परिमाणको चरेश बरामद गरेको हो । उनलाई लागुऔषध ब्युरो कोटेश्वर पुर्याएर आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।
यता सोही समयमा गृह मन्त्रालयले अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुध्द प्रभातफेरी एवम् जनचेतनामूलक र्याली निकालेको छ । बिहान ७ बजेबाट निकालिएको र्यालीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,गृहसचिव दिनेश भट्टराई,नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, नागरिक समाजलगायत विभिन्न क्षेत्रका झण्डै पाँच सय जनाको सहभागिता थियो ।
टिप्पणीहरू