विवादास्पद कार्यक्रममा गृहमन्त्रीको प्रमुख आतिथ्य
-द्रव्य शाह
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज सर्वसाधारणलाई सेयर बाँडफाँड गरेको छ । बिहान साढे १० बजेदेखि उक्त बाँडफाँड ठमेलस्थित पाँच तारे होटल एलफ्टमा गरिएको थियो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रमुख अतिथि बनाएर नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवालीले उक्त कार्य गराएका हुन् । आज बिहान गृह मन्त्रालयले लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध प्रभातफेरि आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तमा सभागृहमा आयोजित कोण सभा सकाएपछि उपप्रधान तथा गृहमन्त्री ज्ञवालीको सेयर बाँडफाँड कार्यक्रममा पुग्नुभएको हो ।
संस्थाका कर्मचारीको बिजोग बनाएर मालिकहरू धनी हुने सजिलो काइदाका लागि ठूला सञ्चारगृहले जनतालाई गुमराहमा राख्दै सेयर निश्कासन गर्न थालेकोबारे जनआस्थाले गत जेठ पहिलो साता समाचार प्रकाशित गरेको थियो । प्रायः सधैँ मूलगेटमा कालो तुल झुण्डिरहने नेपाल रिपब्लिक मिडिया अर्थात् नागरिक दैनिकका साहुजीहरू विनोद ज्ञवाली,श्रीमती शोभा र छोरी समृृद्धिको डरलाग्दो योजनावारे जनआस्थाले ‘नागरिकले नै हेर्ने हो त नागरिकलाई ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । करोडौंको सेयर आह्वान गर्ने क्रममा ज्ञवाली परिवारका तीन जनाले वार्षिक डेढ करोड तलब बुझेको प्रमाण देखिएको तर, त्यही संस्थाका पत्रकार र कर्मचारीले भने महिनौंदेखि तलब नपाउँदा सधैँ आन्दोलन गर्नुपरेको र अहिले पनि त्यहाँका कर्मचारीहरू आन्दोलनमै रहेको अवस्था छ ।
त्यही धराप संस्थालाई पब्लिक कम्पनीमा रूपान्तरण गरेर सेयर आवेदनको आह्वान गर्नुअघि नेपाल धितोपत्र बोर्डमा बुझाइएको र स्वीकृत भइसकेको उक्त कम्पनीको विवरणपत्रमा संस्थाभित्र कहिल्यै श्रम विवाद नरहेको झुठो व्यहोरा उल्लेख थियो । अहिले विवादास्पद तवरले निश्कासन गरिएको सेयर बाँडफाँडको कार्यक्रम पाँच तारे होटलमा राखिनु र प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री हुनुको पछाडि अर्को डरलाग्दो खेल भएको देखिन्छ ।
भोलिका दिनमा उक्त सेयर निश्कासन प्रक्रिया, पेश भएका कागजातको कानुनी हैसियत र सेयर बाँडफाँडको सन्दर्भलाई जोडेर कसैले अदालतमा कानुनी चुनौती दिएमा त्यसलाई मत्थर पार्न उपप्रधान तथा गृहमन्त्रीको आवरण प्रयोग गरिने स्रोतको दाबी छ ।
कम्पनीले विवरणपत्रको पृष्ठ ९ बुँदा नम्बर १२ मा मजदुर संगठनसँगको सम्बन्ध र विगतमा कुनै औद्योगिक विवादबारे उल्लेख गर्नुपर्ने प्रावधानलाई ह्याकुलाले मिचेर आफ्नो संस्थामा त्यस्तो समस्या नै नभएको गर्वका साथ लेखिएको छ । जबकि मिडिया हाउसमध्ये सबैभन्दा धेरै आन्दोलन उक्त कम्पनीमा हुँदै आएको छ । यीलगायत प्रचलित कम्पनी कानुन विपरीतका कतिपय प्रावधानलाई मिचेर धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष रमेश हमालले उसलाई सेयर निश्कासनको स्वीकृति दिएको स्पष्ट भइसकेको छ ।
हमाल यसअघि पनि यस्तै खालका धेरै वटा लफडामा पर्दै आएका थिए । उनीलगायत बोर्डका उच्च पदाधिकारीहरूले नागरिकका मालिकको खुसामदलाई नकार्न नसक्दा सर्वसाधारणको समेत लगानी डुबेर केही वर्षपछि बिजोग हुने अवस्था छर्लङ्ग छ । पारिवारिक प्राइभेट कम्पनीको रूपमा रहेको नेपाल रिपब्लिक मिडियाले पब्लिक लिमिटेडको नाममा सर्वसाधारणलाई ४३ करोड ५३ लाख रूपैयाँको सेयर आह्वान गरेपछि खेलोफड्कोको थप रहस्य खुलेको हो । आज सोही खेलोफड्कोमा गृहमन्त्रीलाई पत्तो नपाउने ढंगले प्रयोग गराइएको छ ।
विनोद र शोभाको नाममा ९९ प्रतिशतभन्दा बढी स्वामित्व रहेको कम्पनीमा अन्य कसैको पनि लगानी देखिँदैन । विनोदका नाममा ९८.२ र शोभाका नाममा १.७२ प्रतिशत लगानी रहेको भनिएको नागरिकमा कागजी रूपमा शुभारम्भ होल्डिङ्सको तर्फबाट अञ्जनकुमार दाहाललाई सञ्चालक राखिएको छ । तर उक्त होल्डिङ्सका अध्यक्ष र सञ्चालकसमेत विनोद र शोभा नै हुन् ।
जबकि ती दाहाल वा उनको कम्पनीले नेपाल रिपब्लिकमा कति प्रतिशत लगानी गरे भन्ने जानकारी धितोपत्र बोर्डले स्वीकृति दिएको र सार्वजनिक भएको विवरण पत्रमा उल्लेख छैन । पब्लिक कम्पनीमा सेयर नभएको व्यक्ति सञ्चालक कसरी हुन सक्छ ? ‘यसबाट नेपाल रिपब्लिक पब्लिक नभएर दम्पती कम्पनी रहेको स्पष्ट हुन्छ । हालसम्म सुको नाफा नदेखाएको कम्पनीले सर्वसाधारणसँग ४३ करोड उठाएर जनताको नाममा रजाईं गर्ने सजिलो उपाय अवलम्बन गरेको प्रष्ट हुन्छ,’ एक जना सेयर बजार विश्लेषकले त्यतिबेलै भनेका थिए ।
यी सबै पक्ष सकारात्मक हुँदा पनि मन्त्री वा सरकारी अधिकारीहरु सेयर बाँडफाँडमा सहभागी हुँदैनन् । त्यसमा पनि गृहमन्त्रीको उपस्थितिको कुनै औचित्य पुष्टि हुन सक्दैन । सेयर आवेदकले मात्रै गोलाप्रथामा सहभागी हुन सक्छन् । तर, एकाएक उपप्रधानमन्त्रीलाई पाँचतारे होटलमा बोलाएर सेयर बाँडफाँडको हल्ला पिटाइनुको पछाडिको रहस्य र तथ्य आगामी दिनमा खुल्दै जाने स्पष्ट छ ।
| यो पनि... |
टिप्पणीहरू