मोरङमा सवा सयले लिए नयाँ प्रावधानको नागरिकता
वितरण सुरु भएको पहिलो दिन मोरङमा हिजो एक सय २८ जना जन्मसिद्ध नेपाली नागरिकका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय र रंगेली तथा उर्लाबारीमा रहेको इलाका प्रशासन कार्यालयबाट जन्मसिद्धका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय मोरङबाट विराटनगरका रोहित जाजुले पहिलो सेवाग्राहीका रुपमा वंशजको नागरिकता प्राप्त गरेको बताइएको छ । यसैगरी नागरिकता प्राप्त गर्न शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका ४ का निरज कामतले पनि हिजै नागरिकता प्राप्त गरेका हुन् । जाजुलाई सहायक सिडिओ सदरकुमार पोखरेल र कामतलाई सिडिओ विरेन्द्रकुमार यादव वंशजको नागरिकता प्रदान गरेका हुन् ।
पछिल्लो समय सर्वोच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको आधारमा नागरिकता पाउने अधिकार मार्ग प्रशस्त गरिदिएपछि मोरङमा हिजोदेखि नागरिकता वितरण सुरु भएको हो । नागरिकता वितरणसँगै जिल्ला र इलाका प्रशासनमा नागरिकता लिने युवाहरुको भीड लागेको छ । योसँगै जिल्लाका सवै पालिकाका वडा कार्यालयमा पनि नाता प्रमाणित गराएर सिफारि गराउनेको घुईंचो लागेको छ ।
मोरङमा यसअघि ३५ हजार जनाले जन्मसिद्धको नागरिकता लिएको रेकर्ड छ । उनीहरुरुका दुई वा तीन जना सन्तानले नागरिकता लिएमा कम्तीमा ७० देखि एक लाख जनाले नागरिकता लिनेछन् । वंशजको नागरिकता लिन हतारिएर आउँदा हुने अवस्थालाई ख्याल गर्दै मोरङ प्रशासनले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन अलग्गै कार्यकक्षको प्रबन्ध मिलाएको जानकारी दिएको छ ।
सर्वोच्चको आदेशपछि गृहले आइतबारदेखि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण गर्न परिपत्र गरेको थियो । मोरङका वडा कार्यालयबाट सिफारिस हुन नसक्दा नागरिकता वितरण हुन सकेको थिएन । मोरङमा जम्मा १७ पालिका छन् । तीमध्ये विराटनगर महानगर, सुन्दरहरैचा र बेलबारी नगरपालिकाको साथै बूढीगंगा, ग्रामथान, केराबारी, कटहरी, जहदा गाउँपालिकाले सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाउन सिफारिस गरेका छन् । यसैगरी रंगेली, सुनवर्षी र रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले इलाका प्रशासन रंगेली र उर्लाबारी, लेटाङ र पथरी शनिश्चरे नगरपालिकाको साथै कानेपोखरी र मिक्लाजुङ गाउँपालिकाले इलाका प्रशासन उर्लाबारीबाट नागरिकता प्राप्त गर्ने व्यवस्था छ ।
टिप्पणीहरू