पानी चुहिँदा प्रहरीलाई हतियार जोगाउन चुनौती

पानी चुहिँदा प्रहरीलाई हतियार जोगाउन चुनौती

रुकुम पश्चिमका प्रहरी इकाईहरु भौतिक पूर्वाधार र सुविधाको कमीका कारण जोखिममा परेका छन् । भौतिक पूर्वाधार अभावले यहाँका प्रहरी युनिटहरु असुरक्षाका बीच दयनीय अवस्थाबाट सेवा प्रवाह गर्न बाध्य छन्  ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अधिकांश युनिटहरु चर्किएको भवनका साघुँरो कोठामा छन् । न गतिलो शौचालय, न त बाथरुम, न भान्साघर छ । थुनुवा राख्ने ठाउँ छैन, गोदाम, ब्यारेक, हिरासत कक्ष त टाढैको कुरा हो । बर्षा लागेपछि चुहिने छानाबाट हतियार बचाउन गाह्रो, हुरी लागेपछि घरको छाना जोगाउन अप्ठ्यारो । पानी पुग्दैन, प्रहरी चौकीमा घेराबार छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले प्रहरीले भौतिक पूर्वाधारको मार खेपिरहेको बताए । भने, 'कतिबेला के पर्छ भन्न सकिदैन, २४ सैं घण्टा तैनाथ रहने हामीलाई पुर्वाधार अभावले चुनौति दिईरहेको छ ।'

 आफ्नै भवन नहुँदा असुरक्षित भएर काम गरिरहेको प्रहरीलाई कार्यसम्पादनमा समेत समस्या हुने गरेको छ । डिएसपी भट्टराईले वर्षा सुरु भएसँगै हतियार कसरी जोगाउने भन्ने चिन्ता बढेको बताए । धेरैजसो कार्यालय स्थानीयले प्रयोग गरेर छोडेका, जीर्ण भवनमा रहेकोले यस्तो समस्या आउने गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिल्लाभरका एक लाख ६६ हजार ३५४ जना जनतालाई प्रहरीले २९ वटा युनिटमार्फत सेवा दिईरहेको छ । जिल्लाको शान्ति सुव्यवस्था कायम, अपराध अनुसन्धान तथा नियन्त्रण गर्नको निम्ति राखिएका सात वटा युनिट आफ्नै भवनमा छन् । बाँकि २२ वटा इकाई भाडाका घरमा छन् । 

२९ मध्ये १३ वटा युनिटको मात्रै आफ्नै जग्गा रहेको छ । भाडामा रहेका २२ युनिटहरुले जटिलताला बीच सेवा दिईरहेका छन् । हिउँदको चिसो र वर्षाको पानीमा हतियार जोगाउन प्रहरी युनिटलाई चुनौति रहेको प्रहरी निरीक्षक खड्काले उल्लेख गरे । आफ्नै हतियारको सुरक्षादेखि हावाहुरीबाट कार्यालयको छानो जोगाउने र चुहिने पानीले गर्ने क्षतिबाट डराएर बस्नुपर्ने बाध्यता प्रहरीको रहेको छ । 

व्यवस्था फेरियो, प्रहरी भवन बनेन

तत्कालिन माओवादीले सशस्त्र युद्ध शुरु गर्दा २०५२ फागुन १ गते ध्वस्त भएको इलाका प्रहरी कार्यालय आठविसकोटको आफ्नै भवन छैन । कार्यालयको नाममा जग्गा भएतापनि भवन नहुँदा जीर्ण र साघुँरो भाडाको घरबाट सेवा प्रवाह गरिरहेको प्रहरी निरीक्षक बिक्रम सुवेदीले बताए ।

 
दश वर्षे युद्धको जगमा व्यवस्था बदलिएतापनि युद्धको सुरुवातीमै ध्वस्त भएको प्रहरी कार्यालय अहिलेपनि ठडिन सकेको छैन । जनताको सुरक्षामा चौबीसै घण्टा तैनाथ रहने प्रहरीहरु कतिसम्म जोखिम मोलेर सेवा दिईरहेका छन् भन्ने गतिलो उदाहरण यहि कार्यालयले दिने गरेको छ । गोतामकोट, खदीलगायत दुर्गममा रहेका प्रहरी चौकीमा कहाँ सुत्ने, कहाँ खाने र कहाँ कार्यालय संचालन गर्ने भन्नेसमेत ठेगान छैन । 

कतिपय स्थानमा जस्तापाताले भित्ता बेरेको घरमा बसेर प्रहरीले सर्वसाधारणको सुरक्षा दिदै आएका छन् । दिनभर ड्युटीमा खटेपछि राती आराम गर्ने ब्यारेक नहुँदा प्रहरीहरु जहाँ सजिलो पर्यो, त्यहीँ सुत्दै आएका छन् । बलियो घेराबार र भवन नहुँदा त्रासका कारण पनि आफूहरु सुरक्षित नभएको उनीहरुको गुनासो छ ।
 
सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित भएपछि जनताको सुरक्षा गर्नमा कठिनाई हुने अधिकारकर्मीहरुको बुझाई रहेको छ । बार यशोसियसन रुकुमपश्चिमका अध्यक्ष रत्नबहादुर खड्काले धेरै स्थानमा अत्यन्त बिजोग अवस्थामा प्रहरी बसेको बताए । 

प्रहरीले आफ्नै अधिकार खोज्नुपर्ने अवस्था रहेकोसमेत उनको बुझाइ छ । विकासका अन्य संरचनामा करोडौँका योजना बनाउने बेला सुरक्षा संवेदनशिलतालाई ध्यान दिएर सरकारले प्रहरी कार्यालयको उचित व्यवस्थापन गर्नुपर्ने खड्का बताउँछन् ।

टिप्पणीहरू