विद्यालय भवन निर्माणमा खेलबाड, उपाध्यक्षको अनुगमनपछि काम ठप्प

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१३ मा निर्माणाधीन एउटा विद्यालय भवनको निर्माण कार्य रोकिएको छ । निर्माण कार्य गुणस्तरहीन भएको पत्ता लागेपछि गाउँपालिकाले आधारभूत विद्यालय पदमीको भवन निर्माण रोकिदिएको जनाएको छ ।  

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको नेतृत्वमा गएको अनुगमन टोलीले प्राविधिक स्टिमेटअनुसार काम नभएको र अन्य मापदण्डसमेत पूरा नगरेको निष्कर्षसहित काम रोक्न निर्देशन दिएको बताइएको छ । 

उपाध्यक्ष बुढाले सिमेन्ट, बालुवा र गिट्टीको अनुपात नमिलेको, गिट्टी र बालुवाको गुणस्तर कम भएको, स्टिमेट अनुसारको सामाग्री प्रयोग नभएको पाईएपछि काम रोकिएको जानकारी दिए । भवन निर्माणको काममा विद्युत लाइनको पाइप नराखिएको, भिजेको सिमेन्टको प्रयोग भएको, मिक्चर मेसिनको प्रयोग नभएकोलगायत कमजोरी अनुगमनबाट पत्ता लागेको उनले बताए । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत २७ लाख ५० हजार रुपैयाँमा उक्त भवन निर्माणको निम्ति गाउँपालिकासँग सम्झौता भएको छ । 

अनुगमन कार्यक्रममा गाउँपालिकाका इन्जिनियर इन्द्रजित गामी, ओभरसियर नवीन दाहाल, कमल केसी, राज सेन, गाउँपालिकाका योजना शाखा प्रमुख ओम प्रकाश ओलीलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू