यात्रुका आफन्तलाई एयरपोर्ट छिर्न कडाई

यात्रुका आफन्तलाई एयरपोर्ट छिर्न कडाई

नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेशमा कडाई गर्ने भएको छ । 

विमानस्थलमा मान्छेको भिडभाड बढेका कारण आन्तरिक सुरक्षा र ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको भन्दै प्राधिकरणले यात्रुको स्वागत तथा विदाईका लागि विमानस्थल छिर्नेहरुमाथि कडाई गर्न लागेको हो । अब यात्रुको बिदाई तथा स्वागतका लागि विमानस्थलभित्र तीन जना मात्रै छिर्न पाउने प्राधिकरणले जनाएको छ ।  

आज सूचना प्रकाशित गर्दै विमानस्थलअन्तर्गत प्राधिकरण कार्यालयका महाप्रबन्धक टेकनाथ सिटौलाले यस्ता समस्या र चूनौतिलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिबाट सो निर्णय गरिएको जानकारी दिए । यसबाट विमानस्थलको हाताभित्र हुने भिडभाड नियन्त्रणमा सहयोग पुग्ने विश्वास गर्दै उनले सम्बन्धित सबैलाई सोहीअनुरुप गर्न गराउन आग्रह गरेका छन् । 

‘यस विमानस्थलमा यात्रुलाई बिदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनको भिडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाई भएको, दुर्घटनाको जोखिम हुनुका साथै यात्रुको सहज आवतजावतमा अवरोध सिर्जना भई यात्रु सेवासुविधा प्रवाहमा समेत प्रतिकूल असर परेकाले अब उपरान्त बिदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनको प्रवेशलाई न्यूनीकरण गर्न एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्त आई स्वागत तथा बिदाई गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन अनुरोध छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू