अरौटे–भरौटेलाई न्यायाधीश बनाए कर्मचारीहरुले आन्दोलन चर्काउने

अरौटे–भरौटेलाई न्यायाधीश बनाए कर्मचारीहरुले आन्दोलन चर्काउने

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले उच्च अदालतमा ठूलाबडाले अरौटे–भरौटेलाई न्यायाधीश बनाएमा आन्दोलन गर्ने चेतावनी दिएको छ । 

संगठनले कुनै अनियमिततामा संलग्न नभएको योग्य, समक्ष, इमान्दार, नैतिकवान कानूनव्यवसायी वा न्यायाधीश अधिकृतलाई उच्चको न्यायाधीशमा नियुक्त गर्न माग गरेको छ । अन्थया, न्यायपालिकाको स्वच्छता अभिवृद्धिका लागि आफ्नो क्षेत्रमा संघर्षरत पक्षलाई साथ सहयोगको माग गर्दै आन्दोलन गर्ने संगठनको चेतावनी छ । 

‘आफ्ना अरौटे–भरौटेलाई माथिल्लो पदमा पुर्याई न्यायपालिकाको संस्थागत मूल्यमान्यता ध्वस्त हुने किसिमले सबैको मनोभावनालाई नजरअन्दाज गरी स्वार्थपरक तवरले कुनै पनि किसिमको दुरासययुक्त नियुक्ति पुनः दोहोरिए न्यायापालिकाको स्वच्छता अभिवृद्धिका लागि आआफ्नो क्षेत्रमा संघर्षरत पक्षलाई साथ सहयोगसहित हाम्रो संगठन आन्दोलित हुने निष्कर्षमा पुगेको व्यहोरा जानकारी गराइन्छ,’ आज प्रकाशित विज्ञप्तिमा भनिएको छ । 

हाल सर्वोच्च अदालतमा छ, उच्च अदालतमा सात र जिल्ला अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त भइसकेको बताइन्छ । संगठनले रिक्त हुनेबित्तिकै पदपूर्ति गर्न र न्यायाधीश नियुक्तिको विश्वासनीयता कायम राख्न न्यायपरिषद् असफल भएको ठहर गरेको छ । भनिएको छ, ‘राजनीतिक भर्तिकेन्द्र र आफन्तलाई जागिर खुवाउने माध्यम न्यायपरिषद् बनिरहेको छ ।’ 

सर्वोच्च अदालतमा कार्यरत ट्रेड युनियनहरुले २०७९ साउन १८ गते सर्वोच्च अदालत र भक्तपुर जिल्ला अदालतको भवन निर्माण ठेक्का सम्बन्धमा निष्पक्ष रुपमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी उपर कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । तर हालसम्म त्यसतर्फ अनुसन्धान कार्य अघि नबढेको उल्लेख गर्दै संगठनले तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सरकार र संसदसमक्ष माग गरेको छ ।

टिप्पणीहरू