ठूलो एकादशी र बकर इद एकैदिन
आज हिन्दु धर्मावलम्बीहरुले घरमा तुलसीको बेर्ना सारेका छन् । आषाढ शुक्ल एकादशीका दिन सारिएको बिरुवालाई अब चार महिनासम्म विशेष पूजा आरधना गरिन्छ ।
गत महिना ज्येष्ठ शुक्ल एकादशीका दिनमा राखिएको तुलसी दलको बिरुवा आज मोठमा सारिएको हो । आज हरिशयनी एकादेशीदेखि कार्तिक शुक्लको हरिबोधनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।
आगामी चार महिनालाई भगवान् विष्णु शयन गर्ने भएकाले चतुर्मास पनि भनिन्छ । यो वर्ष आगामी साउन महिनामा अधिकमास परेकाले हरिशयनी अवधि पाँच महिनाको हुने भएको छ ।
आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठसहित चार नारायणमभा भक्तजनको भीड छ । मुलुकका अन्य नारायण तथा विष्णु मन्दिरमा पनि उस्तै भीड लागेको छ ।
आजै मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इद उल अज्हा) परेको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ । बकर इदको अवसरमा मुलुकभर सार्वजनिक बिदा दिइएको छ ।
टिप्पणीहरू