लाहोर गएका ज्याकलाई नेपाली व्यवसायीहरुको सुझाव,‘ सहकार्यअघि धेरै पटक सोच्नुहोला’
चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंबाट पाकिस्तानको लाहोरतर्फ गएका छन् । अस्ति दिउँसो आइपुगेका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका सह–संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक नेपालको ४५ घण्टे भ्रमण पूरा गरेर पाकिस्तान गएका हुन् ।उनी बंगलादेशको राजधानी ढाकाबाट निजी जेट विमानमा आएका थिए ।
उनले हिजो विनोद चौधरीका बाउछोरासँग चौधरी निवास रवि भवनमा कुराकानी गरेका थिए ।चौधरीसँगको भेटपछि नेपाली व्यवसायीहरुले मालाई सहकार्यको निर्णय गर्नुअघि १० पटक निधार खुम्चाएर सोच्न सुझाव दिएका छन् । उनीहरुका अनुसार चौधरीका अधिकांश व्यवसाय र व्यापार धन्दा अपारदर्शी छन् ।
उदाहरण दिँदै नेपाल उद्योग वाणिज्य महासंघका एकजना पूर्व अध्यक्षले भने, ‘बिल गेट्स,मिलिण्डा फाउण्डेशनलाई समेत विगतमा दुरुपयोग गरेको सम्झिए पुग्छ । अहिले निर्वाणसँगको सम्बन्धका कारण ज्याक उनको घर गएका हुन् । ठ्याक्कै भन्ने हो भने चौधरीको एक मात्र नियत चिनियाँ धनाढ्यको पैसा झार्ने हो ।’
त्यसअघि हिजो बिहान साढे १० बजे उनी कालिमाटी तरकारी बजार पुगेका थिए । काठमाडौं आएको टोलीमा डेनिस चेन,वु मिङ,पल ज्याक्सन,छन सि,किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङ भए पनि केही सदस्यमात्र कालिमाटी र रवि भवन गएको बताइन्छ ।
त्यसपछि उनीहरु स्वयम्भू पुगेर काठमाडौंको दृश्यावलोकन गरेका थिए । अपरान्ह चौधरीको निवासबाट निस्केर ज्याकको टोली भक्तपुर दरबार स्क्वायर पुगेको थियो । उनीहरुले दुई रात बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बिताएको पाइन्छ ।
यसअघि आज बिहान सवा ५ बजे पाकिस्तानको लाहोर जाने उडान तालिका भए पनि ज्याकको विमान बिहान साढे ११ बजे मात्र काठमाडौंबाट उडेको हो ।
चिनियाँ धनाढ्य हङकङमा दर्ता रहेको जेट एभिएसन बिजनेस जेट्स हङकङ लिमिटेडको ८७३७ म्याक्स ८ विमानमा आएका थिए । कल साइन भीपी सीएमए रहेको उक्त विमान यात्रु चार्टरमा मात्र प्रयोग हुने गरेको छ । काठमाडौं आउँदाको उडान क्याप्टेन र्याण्डी डुरान हले भरेका थिए ।
टिप्पणीहरू