गैंडा मारिएकोमा राष्ट्रिय निकुञ्ज तीन महिनादेखि बेखबर

गैंडा मारिएकोमा राष्ट्रिय निकुञ्ज तीन महिनादेखि बेखबर

पर्सा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रभित्र गैँडा मारेर खाग चोरिएको घटना तीन महिनासम्म गुपचुप राखिएको छ । निकुञ्जका अधिकारीहरुले उक्त विषय महिनौंसम्म थाहा नपाएको भन्ने तर्क सुन्ने जो कोहीलाई पत्यार नलाग्न सक्छ । लोपोन्मुख एक सिंगे गैँडाप्रति निकुञ्ज प्रशासन र नेपाली सेना त्यति धेरै लापरवाही गर्दैनन् भन्ने आम बुझाई अहिले पनि विद्यमान छ । 

तर आम बुझाईभन्दा विपरीत पर्सा राष्ट्रिय निकुञ्जमा गैँडा शिकार भएको गम्भीर विषय तीन महिनापछि मात्रै थाहा पाइयो भन्नुले अर्को रहस्य खुलेको छ । एक साताअघि मात्रै फेला परेको गैँडाका मृत शरीर हेर्दा तीन महिनाअघि नै शिकार भएको अनुमान गरिएको छ । 

‘सबै कुरा त आइसकेको छैन, तर हाम्रो अनुमानमा गैँडा मरेको तीन महिना जति भइसकेको हुनुपर्छ’, निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए । उनका अनुसार सडेगलेको अवस्थामा गैँडाको मृत शरीर पर्सा राष्ट्रिय निकुञ्जको भालुखोलाको मुहानमा फेला परेको हो । 

मनहरी बजारबाट दक्षिणतर्फ राप्ती खोलाको पारिपट्टिको भालुखोला मुहान नेपाली सेनाको प्रतापपुर क्याम्पबाट नजिकैको दूरीमा रहेको स्थानीय वासिन्दा बताउँछन् । तीन महिनापछि फेला परेको मृत गैँडाको शरीरबाट खाग गायब पारिएको छ । खाग नरहेपछि शिकारीहरुबाटै गैंडा मारिएको अनुमान गरिएको छ । 

बेवारिस अवस्थामा सडेगलेको गैँडाको शरीर भेटिएपछि निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती व्यवस्थापन समितिका पदाधिकारी सहितको टोलीले चिकित्सक लगेर पोष्टमार्टम गराएको छ । पोष्टमार्टम प्रतिवेदन आउन केही समय लाग्ने भएकाले अझै घटनाबारे बोल्न नमिल्ने निकुञ्जका सूचना अधिकारीको भनाई छ । खड्काकै नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले घटनास्थल वरपरको वस्तुस्थिति र घटनाबारे थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

टिप्पणीहरू