पर्सि मुलुकभरका अदालतको कामकाज ठप्प पार्ने निर्णय

पर्सि मुलुकभरका अदालतको कामकाज ठप्प पार्ने निर्णय

निजामती कर्मचारीसम्बद्ध विभिन्न संघ संगठनले पर्सि मुलुकभरका सम्पूर्ण अदालतमा आधा दिन कामकाज ठप्प पार्ने भएका छन् ।  ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि भएको दुर्व्यवहारको विरोधमा आइतबार बिहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म कामकाज ठप्प पार्न आह्वान गरिएको छ । 

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै उक्त दुःखद् घटनाको विरोधस्वरुप कामकाज ठप्प पार्न लागिएको जानकारी दिइएको छ । 

अदालतमा कार्यरत सम्पूर्ण जनशक्तिको सुरक्षाको सुनिश्चितताका लागि सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराउन पनि उक्त कदम चाल्नु परेको संगठनहरुको भनाइ छ । 

‘अदालतको कार्यकक्षभित्रै भएको उक्त गम्भीर दुःखद् घटनाको विरोधस्वरुप मिति २०८०–३–१७ गते आइतबारका दिन बिहान १० बजदेखि अपरान्ह साढे १ बजेसम्म देशैभरीका सम्पूर्ण अदालतहरुमा कामकारबाही बन्द गर्न अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गर्दर्छौं’, जारी विज्ञप्तिमा उल्लेख छ । 
 
त्यस्तै, संगठनहरुले घटनामा संलग्न कानुन व्यवसायी अमित लामिछानेलाई कडा कारबाही गर्न माग गरेका छन् । नासु तामाङमाथि अस्ति दिउँसो कार्यकक्षमै हातपात भएको थियो । कानुन व्यवसायी लामिछानेले उनीमाथि दुर्व्यवहारसँगै हातपात गरेको बताइन्छ ।

लामिछानेको मुक्का प्रहारबाट नासु तामाङको दुइवटा दाँत हल्लिएको छ । ओठ, हात र पाखुरामा चोट लागेको जानकारी दिइएको छ । साथै, उनको कपडासमेत च्यातिएको थियो । कार्यालयमै महिला कर्मचारीमाथि हातपात गर्ने कानुन व्यवसायी लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
 

टिप्पणीहरू