हिरासतमा रहेका मीनबहादुरहरुको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

हिरासतमा रहेका मीनबहादुरहरुको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले हालेको मुद्दामा उक्त आदेश गरेको हो । 

गुरुङ, शाह र गौतमले हदम्याद नाघेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको जिकीर गर्दै हिरासतबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए । पक्राउ गर्नुको कारण र प्रमाणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई अदालतले आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए सोसमेत खुलाई यो सूचना म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक चौबीस घण्टाभित्र कागज प्रमाणहरुसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदन पत्रको प्रतिलिपीसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू ।’

टिप्पणीहरू