किन चाडको बेला मुस्लिम दुनियाँमा गयो असम्बन्धित बथान ?

किन चाडको बेला मुस्लिम दुनियाँमा गयो असम्बन्धित बथान ?

यतिखेर मध्यपूर्वको मुस्लिम मुलुक ओमानमा सप्ताहव्यापी बिदा छ । अस्ति  परेको बकर इद (इदउल अजाह) को अवसरमा मंगलबारदेखि आइतबारसम्म सार्वजनिक बिदा दिइएको छ । तर, त्यही मुलुकको राजधानी मस्कट र समुन्द्री किनारमा नेपालका उपप्रधानमन्त्री,मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, सचिव,सहसचिवहरु, महानिर्देशकलगायत झण्डै एक दर्जन सरकारी अधिकारी कुदिरहेका देखिन्छन् ।

मस्कटमा बिहीबार साँझदेखि ८ औं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन शुरु भएको छ । तर सम्मेलन प्रारम्भदेखि नै विवादमा परेको छ । श्रमिकको हित प्रतिकूल रहेको भन्दै असन्तुष्टि चर्किएको छ । त्यही सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रममन्त्री शरद्सिंह भण्डारीलगायत सहभागी छन् । 

त्यसैगरी पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ,पूर्वश्रममन्त्री किसान श्रेष्ठ,पूर्वमन्त्री जनार्दन शर्मा, सहसचिवहरु,वैदेशिक रोजगार विभागका महानिर्देशक,सामाजिक सुरक्षा कोषका पदाधिकारीहरु पनि त्यहाँ पुगेका छन् । केही उपसचिव र शाखा अधिकृतले पनि मस्कट भ्रमण गरिरहेका छन् । तीमध्ये धेरैको खर्च आयोजकले व्यहोर्ने भनिएको छ,वैदेशिक रोजगार बोर्डका पदाधिकारीहरुको खर्च भने बोर्डमा रहेको सुरक्षा कोषबाट व्यहोरिएको हो ।

मुलुकको तर्फबाट प्रतिनिधित्व गरेर गएका उपप्रधान तथा मन्त्रीहरुका साथै सचिव र सहसचिवहरुले ओमानका सरकारी अधिकारीहरुसँग भेट गर्ने कुनै सम्भावना छैन । सरकारी र नीतिगत तहमा केही काम नहुने र भेटघाटसमेत नराखिएको बताइन्छ । तर,मुस्लिम धर्मावलम्बीहरुको बिदाको अवसरमा प्राप्त साताव्यापी लामो सुविधालाई मध्यपूर्वका गैरआवासीय नेपालीहरुले सदुपयोग गरेको देखिन्छ ।

सम्मेलनमा श्रमसम्बन्धी कुनै एजेण्डासमेत राखिएको छैन । तीन दिने कार्यक्रममा परराष्ट्र मन्त्रालयको एनआरएनए डिभिजनका कोही पनि सामेल नभएको बताइन्छ । यति धेरै सरकारी अधिकारीहरुको प्रतिनिधित्व भएको कार्यक्रममा परराष्ट्र मन्त्रालयको तर्फबाट समन्वयका निम्ति को जानुभएको छ ? भनेर सोधिएको जिज्ञासामा हुने वाला सचिव तथा प्रवक्ता सेवा लम्सालले भन्नुभयो, ‘औपचारिक रुपमा यसवारे कुनै जानकारी छैन । एनआरएनएको जिम्मेवारी लिनुभएका डेस्क चिफलाई शुक्रबार  मैले मन्त्रालयमै देखेको थिएँ । यसबारे अरु थाहा भएन ।’

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री खड्कालाई मुख्य अतिथि बनाइएको छ । श्रम मन्त्रालयका वर्तमानदेखि भूतपूर्व मन्त्रीहरुलाई समेत लगिएको छ । अन्य मन्त्रीहरु पनि सामेल छन् । उता वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकम खर्चेर त्यताका हाकिमहरुको लस्कर लागेको छ । 

‘मुलुकको कहालीलाग्दो आर्थिक अवस्थावीच त्यस्तो कार्यक्रममा अर्थ मन्त्रालयले हुलका हुललाई सहभागी गराउन खर्चको स्वीकृति कसरी दियो ?,’ स्रोतले भनेको छ । मुलुकको तर्फबाट अत्यावश्यक ठाउँमा प्रतिनिधित्व गर्नुपर्ने स्थानमा अर्थले अनावश्यक भन्दै मितव्ययिताको नाममा रोक लगाइदिने गरेको तीतो यथार्थ पनि एकातिर छ । 

कल्याणकारी कोषको रकम दुरुपयोग भएकोवारे श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन । उनको मोबाइल स्विच अफ  छ । कोषको रकम कार्यविधिमा तोकिएको श्रमिकको हितबाहेक अन्यत्र खर्च गर्न नहुने भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।

टिप्पणीहरू