वरिष्ठ पत्रकार कमल कोइराला पाल्पामा सम्मानित
पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० वरिष्ठ पत्रकार कमल कोइरालालाई प्रदान गरिएको छ । वामपन्थी लेखक कोइरालालाई तानसेनमा आयोजित एक विशेष समारोहमा उक्त पुरस्कारबाट सम्मान गरिएको छ ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उहाँलाई हिजो सम्मानित गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराई, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीलगायतले नगद, सम्मानपत्र, दोसल्ला र पाल्पाली ढाका टोपीसहित १ लाख ११ हजार १ सय ११ पुरस्कार राशी प्रदान गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका समकालीन पत्रकार कोइरालाको जन्म ८६ वर्षअघि मोरङमा भएको हो । पुरस्कृत कोइरालाले पुरस्कारको निम्ति धन्यवाद व्यक्त गर्नुभएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको राजनीतिक तथा सामाजिक आन्दोलनका अगुवा कोइरालालाई पुरस्कार प्रदान गरिएकोमा आयोजक संस्थाको सह्राना गर्नुभएको छ ।
समारोहमा वरिष्ठ पत्रकार किशोर श्रेष्ठले पुरस्कृत व्यक्तित्व कमल कोइरालाको जीवनी, राजनीतिक, सामाजिक आन्दोलन र पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
पुरस्कार तानसेन नगरपालिकाको सहयोगमा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानले प्रदान गरेको हो । सम्मानित कोइराला जनआस्था साप्ताहिकमा प्रारम्भदेखि स्तम्भकार हुनुहुन्छ ।
टिप्पणीहरू