एयरपोर्टमा पत्रकार बोलाएर गृहमन्त्रीले भन्नुभो, बिआरआईमा चीनको चासो छ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी मुलुक चीनले नेपालमा बिआरआई परियोजनाको स्थितिबारे चासो राखेको बताउनुभएको छ ।
चीनको पाँच दिने भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले दुई देशबीच आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमण फलदायी भएको समेत जानकारी गराउनुभयो ।
भ्रमणका क्रममा नेपालमा चिनियाँ लगानी भित्र्याउन महत्वपूर्ण कुराकानी भएको गृहमन्त्रीको भनाई छ । चीनका प्रधानमन्त्री नेपालमा लगानी बढाएर सहयोग गर्न सकारात्मक रहेको संदेश सिचुवान प्रान्तका प्रमुखले आफूलाई सुनाएको पनि उहाँले जानकारी दिनुभयो।
सिचुवानमा उदाहरणीय सिँचाई प्रविधिको अवलोकन गरेको बताउनुभएका गृहमन्त्री श्रेष्ठले छेन्दु-काठमाडौँ हवाई उडानलाई विस्तार गरी छेन्दु-भैरहवा नियमित गराउन दुईपक्षीय कुराकानी भएको पनि जानकारी दिनुभयो ।
१९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा प्रमुख अतिथिका रुपमा गत बुधबार छेन्दु पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी ह लि फङसँग भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा दुई देशबीच व्यापार, लगानी, कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको बताइएको छ।
टिप्पणीहरू