अदालतको सिसिटिभी खराब ? प्रेमिका सुब्बामाथि वकिलहरुको आक्षेप

अदालतको सिसिटिभी खराब ? प्रेमिका सुब्बामाथि वकिलहरुको आक्षेप

आफ्ना माग पूरा गराउन अदालतका कर्मचारी र कानुन व्यवसायीहरुले अदालती कामकार्वाही रोक्न थालेपछि ललितपुर जिल्ला अदालतको कुटपिट काण्ड थप पेचिलो बनेको छ । त्यहाँकी महिला कर्मचारीमाथि कानुन व्यवसायीले कार्यकक्षभित्रै मुक्का हानेको भन्दै आज मुलुकभरका अदालतको प्रशासनिक कार्य ठप्प पारिएको थियो । 

नायव सुब्बा प्रेमिका तामाङको अनुहारमा अधिवक्ता अमिर लामिछानेले गत बुधबार दिउँसो मुक्का प्रहार गरेपछि समस्या बल्झिएको कर्मचारीहरुको आरोप छ । त्यसैगरी पक्राउ परेका कानुन व्यवसायी रिहाइको माग गर्दै बार एशोशिएसनले भोलिदेखि काम नगर्ने भएको छ । 

यसैबीच जिल्ला अदालत ललितपुरका स्रेस्तेदार विष्णु पाण्डेले प्रहरीलाई एउटा पत्र पठाएका छन् । पत्रमा बुधबार नायव सुब्बा र कानुन व्यवसायीबीच भएको लफडाको सिसिटिभी फुटेज बिग्रेको जवाफ दिइएको छ । अधिवक्ता लामिछाने बुधबारदेखि प्रहरी हिरासतमा छन् ।

पाण्डेको उक्त पत्रले प्रमाण नष्ट गराएको कर्मचारीहरुको आरोप छ । यता वकिलहरुको संगठन बारले ललितपुर जिल्ला अदालतमा प्रेमिका तामाङमाथि हातपात भएको मुद्दाविरुद्ध पूरक निवेदन हालेको छ । एकातिर मुद्दा,अर्कोतिर पूरक निवेदन परेपछि प्रहरीले कानुनी रायको निम्ति सरकारी वकिलको कार्यालयमा लेखी पठाएको बताइन्छ । 

यता मुक्का खाएकी महिला कर्मचारीमाथि वकिलहरुले ट्र्याक रेकर्ड खराब भएको आरोप लगाएका छन् । नेपाल बारको आज सम्पन्न बैठकमा सहभागी एक जना नेताका अनुसार प्रेमिका तामाङले भक्तपुर जिल्ला अदालतमा छँदा तारिख बुझ्न आएका एक जनालाई पिटेको कारण कारबाहीमा परेकी थिइन् ।

त्यसैगरी, काठमाडौंमा रहँदा आफू मुनिका खरिदारलाई पिट्दा पनि कारबाहीमा परेको उनीहरुको दाबी छ । अहिलेसमेत ललितपुर जिल्ला अदालतमा गत बुधबार दिउँसो वकिल अमिरलाई प्रेमिकाले पहिले पिटेको कानुन व्यवसायीहरु बताउँछन् । दुब्लो पातलो शरीरका अमिरलाई खाइलाग्दो ज्यानकी प्रेमिकाले थप्पड लगाएपछि कानुन व्यवसायी लामिछाने ढलेका थिए । स्रोत बताउँछ, ‘नजिकैका सबैजना गलल हाँसेपछि उनी उठेर सुब्बामाथि जाइलागेका थिए । हिर्काएका होइनन् । कर्मचारीले प्रेमिकालाई छेक्न खोज्दा उनको सर्टको बाहुला च्यातिएको हो तर सारा दोष वकिललाई लगाइयो ।’

सर्वोच्च अदालतका एक जना कर्मचारी र श्रेस्तेदार पाण्डेले त्यतिबेला अदालतमा हुन लागेको लेनदेन भाँडेको कर्मचारीहरुको भनाई छ । प्रधानन्यायाधीशको नियुक्तिपछि राजीनामा दिएका अर्घाखाँचीका न्यायाधीश श्रीकृष्ण भट्टराईले पछिल्लो घटनाको नेतृत्व गरेको बताइन्छ । वकिलहरुलाई न्यायाधीश बन्न नदिने योजनाअनुसार कर्मचारीहरुले आजको बहस रोकिएको बताइन्छ 

कर्मचारीहरुको आन्दोलनपछि यता वकिलहरुको संस्था नेपाल बारले कुनै पनि अदालतमा बहस नगर्ने निर्णय गरेको छ । उपत्यका बारले भोलि बिहान ११ बजे ललितपुर जिल्ला अदालत बाहिर सभाको कार्यक्रम राखेको छ । 

यता सिसिटिभी फुटेज लुकाएर अहिले प्रहरीलाई गलत पत्र लेखेको भन्दै रजिष्ट्रारमाथि वकिलहरुले भ्रष्टाचारीको बिल्ला भिराइदिएका छन् । उनलाई कारबाहीको प्रक्रिया अघि बढ्दा तत्कालीन समयमा माओवादी नेतृत्वको दबाबमा उनी जोगिएको काँग्रेस र एमाले निकट कानुन व्यवसायीहरुको भनाई छ । रजिष्ट्रार र कर्मचारी प्रेमिका दुवै माओवादी निकट मानिन्छन् ।

टिप्पणीहरू