प्रेमिका प्रकरणमा नयाँ ट्विस्ट, कर्मचारीले वकिलसँग घूस मागेको बारको ठहर

प्रेमिका प्रकरणमा नयाँ ट्विस्ट, कर्मचारीले वकिलसँग घूस मागेको बारको ठहर

ललितपुर जिल्ला अदालतका कर्मचारी प्रेमिका तामाङ र उच्च अदालत बारका सदस्यसमेत रहेका कानुन व्यावसायी अमिर लामिछाने बीचको विवादले बार र बेञ्चको लफडा चर्किएको छ । 

घटनामा कानुन व्यवसायीलाई एकतर्फीरुपमा दोषी करार गर्न खोजिएको भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले भोलि इजलासमा बहस गर्न नजाने निर्णय गरेपछि यस्तो स्थिति बनेको हो । बारले ६ बुँदे माग अघि सार्दै पक्राउ परेका लामिछानेलाई २४ घण्टाभित्र रिहाइ गर्न अल्टिमेटम दिएको छ । 

घटनाको सत्यतथ्य छानविनका लागि समिति गठन गर्न माग राखेको बारले सिसिटिभी फुटेज सार्वजनिक गरेर यथार्थ बाहिर ल्याउन आग्रह गरेको छ । ‘कृत्रिम मुद्दा लगाई थुनामा  राखिएका निज कानुन व्यवसायी अमिर लामिछानेलाई २४ घण्टाभित्र बिना शर्त रिहाई गर्न सांकेतिक विरोधस्वरूप भोलि देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा बाहेक बहस पैरवी नगर्ने निर्णयानुसार देशैभरका बार इकाई, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुलाई सूचित गरिन्छ’, बारको विज्ञप्तिमा उल्लेख छ ।

 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले जारी गरेको संयुक्त विज्ञप्तिमा अदालतकी कर्मचारी प्रेमिकाले वकिल लामिछानेसँग घुस मागेको उल्लेख छ । सिसिटिभी फुटेजबाट घटनाको यथार्थ पत्ता लगाउनुपर्नेमा त्यसो नगरेपछि आशंका पैदा भएको उनीहरुको भनाई छ ।

टिप्पणीहरू