हात्ती आतंक बढ्यो, पाँच वर्षमा ७३ जनाको ज्यान गुम्यो

हात्ती आतंक बढ्यो, पाँच वर्षमा ७३ जनाको ज्यान गुम्यो

पछिल्ला वर्ष जंगली जनावरहरुको आतंक बढ्दो छ । जीविकोपार्जनको उपाय खोज्दै घर वरपर र नजिकैको वन क्षेत्रमा जाँदा सर्वसाधारण वन्यजन्तुको आक्रमणमा परेर गम्भीर घाइते हुने वा ज्यानै समेत गुमाउने गरेको घटना बढ्न थालेको छ ।

तीमध्ये जंगली हात्तीको आक्रमणमा मानवीय तथा धनमालको क्षति पनि बढ्दै गएको छ । आज झापाको मेचीनगर नगरपालिका १० मा जंगली हात्तीले कुल्चँदा एक जनाको ज्यान गएको छ । पूजाको निम्ति फूल टिप्न हिँडेकी स्थानीय ८० वर्षीया पन्नादेवी साहलाई आज बिहान हात्तीले सडकमा कुल्चेर मारेको वडाध्यक्ष नारायण खनालले बताए । डिभिजन वन कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाले ज्यान गुमाइसकेका छन् । 

त्यस्तै, गत बैशाख २ गते सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भयो । मेला हेर्न गएका गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आलेमगरको हात्तीको आक्रमणबाट मृत्यु भएको बताइएको छ । 

साथीहरुसँग नाच हेर्न गएको समयमा गोलबजार नगरपालिका १, गुलरियामा अकस्मात हात्ती आएपछि उनी भाग्न नसक्दा हात्तीको आक्रमणमा परेकी हुन् । यस क्षेत्रमा पनि हात्तीले पटक पटक मानिसमाथि हमला गरिसकेको छ । गत फागुन २३ गते गोलबजार नगरपालिका ३, जमदह पुरानोडिहका २२ वर्षीय देवप्रसाद सदाको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । 

गत माघ ३ गते सुनसरीको बराह क्षेत्रमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भयो । जंगलमा घाँस काट्न गएका बराहक्षेत्र नगरपालिका वडा नम्बर २ का ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो । रातको समयमा हात्तीको बथान नै आउने भएकाले सो क्षेत्रका स्थानीय जाग्राम बस्न बाध्य भएका छन् । उनीहरु हात्ती खेद्न एकै ठाउँमा बस्दै आएका छन् । 

यता, मकवानपुरमा पनि जंगली हात्तीकै आक्रमणमा परेर एक सातामा दुई जनाले आफ्नो ज्यान गुमाएका छन् । गत फागुन ११ गते पर्सा वन्यजन्तु आरक्षको हात्तीको आक्रमणमा परेर बकैया गाउँपालिका ५, पावसका ५० वर्षीय सन्तलाल माझीको मृत्यु भएको थियो । 

साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका उनलाई उपचारार्थ हेटौंडा अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।  त्यसअघि मकवानपुरकै मनहरी गाउँपालिका ४ की ६४ वर्षीया राधा अधिकारीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । 

यी केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो केही वर्षदेखि जंगली हात्तीको आक्रमणबाट मारिने वा घाइते हुनेको संख्या बढ्दो छ । विशेषगरी ग्रामीण भेगमा हात्तीले आतंक मच्चाउने गरेको छ । घाँस काट्न जाँदा, दाउरा खोज्न जाँदा वा रातको समयमा हात्तीले आक्रमण गर्ने गरेको छ ।

जंगलमा आहारा नभएपछि हात्ती बस्तीसम्म पुग्ने गरेको हो । बस्तीमा पसेको हात्तीले बालीनाली र भौतिक क्षति पुर्याउने भएकाले त्यसलाई रोक्न जाँदा पनि अधिकांश मानिसमाथि आक्रमणमा हुने गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पछिल्लो पाँच वर्ष (२०७६ सालदेखि २०८० सालसम्म) मा हात्तीको आक्रमणमा परेर ७३ जनाले आफ्नो ज्यान गुमाएका छन् । सोही अवधिमा ८२ जना गम्भीर घाइते हुँदा ३५ जना भने सामान्य घाइते भएका छन् । 

विभागले हात्तीको आतंकबाट आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म मात्रै तीन सय ८५ घरगोठमा क्षति पुगेको जनाएको छ । त्यस्तै, भण्डारण गरेको अन्न दुई सय ५६ स्थानमा क्षति पुर्याएको छ । अन्नबालीमा पनि उत्तिकै क्षति पुगेको बताइन्छ ।  

झापाको हल्दिबारी गाउँपालिकाले हात्ती नियन्त्रणका लागि भन्दै जलथलको जंगल क्षेत्रमा बाटो, कुलो निर्माणका साथै विद्युतीय तारबार गरेको छ । यता, मेचीनगर नगरपालिका ९ स्थित थोप्लेबिरान सामुदायिक वनले पनि हात्ती नियन्त्रणका लागि जंगलभित्रै फलफूलका बिरुवा रोपेको छ ।

स्थानीयले हात्ती धपाउन विद्युतीय तारबार गरे । तर, हात्ती नियन्त्रणका लागि जडान गरिएको विद्युतीय तारमा परेर केही स्थानीयले आफ्नो ज्यान गुमाएको पीडादायी घटना पनि भएका छन् । मेचीनगरमा मात्रै हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परेर हालसम्म ४० जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । यसरी हात्ती नियन्त्रणका लागि भएका प्रयासहरु एकाएक असफल भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकृत तथा संरक्षण शिक्षा अधिकृत चन्द्रशेखर चौधरी पछिल्ला वर्षमा हात्ती हिँड्ने वन क्षेत्र अतिक्रमण गरेर बस्ती बस्ने, खेतीपाती गर्ने, सडक नहरलगायत संरचना निर्माण गर्ने प्रवृत्तिले पनि हात्ती आंतक बढेको बताउँछन् । 

उनले भने, ‘हात्ती लोपोन्मुख प्रजातिमा पर्छ । यसको बथान सयौं वर्षदेखि नेपालमा चुरे फेदीको बाटो हुँदै ओहोरदोहोर गर्दै आएको छ । तर, पछिल्लो समय हात्ती हिँडडुल गर्ने जंगल नजिकै बस्ती बसेको छ । जंगल भएपनि न जल पाइन्छ, न खाना । त्यसकारण हात्तीले आहारा खोज्ने क्रममा वा ओहोरदोहोर गर्ने समयमा उसको आक्रमणमा स्थानीय पर्ने गरेका हुन् ।’

हात्ती नियन्त्रणका लागि वन जंगल वरपर बस्ती बसाउन नहुने उनको सुझाव छ । साथै, जंगलमै उनीहरुको निम्ति खानाको व्यवस्थापन गर्नुपर्नेमा उनी जोड दिन्छन् । यता जंगली हात्तीको आक्रमणमा परेर मृत्यु हुनेको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ । 

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६५ (तेस्रो संशोधन, २०७५) मा हात्तीको आक्रमणबाट मृत्यु हुने मृतकको आश्रित परिवार वा हकवालाले १० लाख राहत पाउने व्यवस्था रहेको उनी बताउँछन् । 

त्यस्तै, सामान्य घाइतेको निम्ति घाइतेको प्रकृति हेरेर प्रेषित कागजात र सिफारिसका आधारमा बढीमा २० हजारसम्म औषधोपचार खर्च दिने निर्देशिकामा उल्लेख छ ।  सख्त घाइतेको निम्ति घाइतेको प्रकृति हेरेर प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्म औषधोपचार दिने व्यवस्था छ ।

टिप्पणीहरू