खाद्यान्न गोदाम रित्तो नभएको सरकारी दाबी

खाद्यान्न गोदाम रित्तो नभएको सरकारी दाबी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वर्षायाममा खाद्यान्नको अभाव नहुने बताएको छ । लिमिटेडले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको जानकारीमा दैनिक रुपमा चामलका ट्रकहरु आइरहँदा गोदाममा सञ्चिति बढेकाले खाद्यान्न अभाव नहुने उल्लेख छ । 

कम्पनीका अनुसार हाल काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरुमा ३६ हजार ३ सय ५६ क्विण्टल खाद्यान्न मौज्दात देखिन्छ । अति दुर्गम तथा दुर्गम जिल्लामा २५ हजार ५ सय ५ क्विन्टल खाद्यान्न मौज्दात रहेको पनि कम्पनीले जनाएको छ । 

खुल्ला प्रतिस्पर्धाको माध्यमबाट थप खाद्यान्न र चामल खरिदका लागि बोलपत्र आह्वानको प्रक्रिया पनि जारी रहेको जानकारी दिइएको छ । हाल कम्पनीको गोदाममा २६ हजार ३ सय ७५ क्विन्टल धान मौज्दात रहँदा भारतबाट आयात कोटाअन्तर्गत प्राप्त हुने साल्ट टे्रडिङमार्फत् तत्काल ३४ हजार ३ सय २० क्विन्टल गहुँ पनि मौज्दात रहने बताइएको छ ।

योसँगै खुला बजारबाट प्रतिस्पर्धाको आधारमा सम्झौता भएको ८९ हजार एक सय क्विण्टल खाद्यान्न कम्पनीको गोदाममा आइसकेको छ । भारतबाट आयात गर्न लागिएको खाद्यान्न पनि लोड भइसकेको कम्पनीको दाबी छ । 

‘हाल ८९ हजार एक सय क्विण्टल खुला बजारबाट कम्पनीको गोदामहरुमा आइरहेको छ भने आषाढ २८ गते बिडिङ हुने चामलको बोलपत्र तत्काल मूल्यांकन गरी चामल खरिद शुरु हुने छ । गोदाममा सञ्चिति बढ्न गई खाद्यान्न अभाव हुने स्थिति नरहने अवस्था छ,’ पत्रमा भनिएको छ ।

यसअघि कम्पनीका दुर्गम तथा विभिन्न जिल्लाका गोदाममा खाद्यान्न मौज्दात नभएको समाचार बाहिरिएको थियो ।

टिप्पणीहरू