सरकारी सूचना निमुखा सर्वसाधारणलाई मात्रै ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने तथा स्वदेश फर्किने यात्रुलाई स्वागत वा बिदाइ गर्न तीन जना आफन्तजन मात्र एयरपोर्टभित्र छिर्न पाउने प्रावधान बनाएको छ । विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले असार १२ गते जारी गरेको सूचनामा यात्रुहरुको आवतजावतमा समस्या भएकाले तीन जना मात्र आफन्तजन पुगेर स्वागत वा बिदाइ गर्न अनुरोध गरिएको छ ।
अनावश्यक भीडभाडले यात्रुको सेवासुविधा प्रवाहमा प्रतिकूल असर पारेको उल्लेख गर्दै कार्यालयले सूचनामा भनेको छ, ‘अब उपरान्त बिदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुको निम्ति बढीमा तीन जना मात्र आफन्तजन आई स्वागत तथा बिदाइ गरी भीडभाड नियन्त्रणमा सहयोग गरिदिन अपिल गर्दछौं ।’
यसैबीच आज मध्यान्ह विमानस्थलमा फरक दृश्य देखियो । श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औं स्थापना दिवस तथा दक्षिण एसियाली कम्युनिष्ट पार्टीका नेताहरुको बैठकमा भाग लिन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज दिउँसो पौने २ बजे कोलम्बो प्रस्थान गर्नुभएको छ ।
उहाँलाई बिदाइ गर्न उपाध्यक्ष राजेन्द्र पाण्डे,प्रमेश हमाल,उपमहासचिव डा. गंगालाल तुलाधर, स्थायी कमिटी सदस्य मेटमणि चौधरी, विभिन्न जनसंगठनका नेताहरु गरी दुई दर्जनको जम्बो टोली विमानस्थल पुगेको थियो । सरकारी सूचनाको बर्खिलाप हुने गरी विमानस्थलको विशिष्ट कक्षमा ह्वारह्वार्ती नेता तथा कार्यकर्ता पुगेपछि सर्वसाधारणले सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् ।
‘नियम सँधै जनताका लागि मात्रै हो ?’ भन्दै व्यापक असन्तुष्टि जनाइएको छ । यता, कार्यालयका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले सबै जनाका लागि एउटै नियम भएको दाबी गरेका छन् । भिआईपीदेखि सर्वसाधारण सबैका लागि सोही नियम कार्यान्वयनमा ल्याइएको उनको भनाई छ ।
‘हामीले यहाँ भीडभाड भयो भनेर एक जना यात्रुसँग तीन जना मात्र आउन पाउने निर्णय गरेका छौं । भिआईपी होस् या अन्य कोही सबैले यो निर्णय मान्नैपर्छ । सर्वसाधारणलाई एउटा, भिआईपीलाई अर्को भन्ने कुरै आउँदैन । विशेष अवस्थामा फरक पर्न सक्छ’, उनले भने, ‘ड्युटी अफिसरले भिआईपी भन्ने लागेर छोडिदिनुभयो होला । अझैपनि कडाइका साथ निर्णय कार्यान्वयनमा आइसकेको छैन । तैपनि कुरा के रहेछ,म बुझ्छु ।’
टिप्पणीहरू