ललितपुर जिल्ला अदालतका कर्मचारीहरु गुहार माग्दै सर्वोच्चमा

ललितपुर जिल्ला अदालतका कर्मचारीहरु गुहार माग्दै सर्वोच्चमा

कानुन व्यवसायीहरुबाट आफूहरूलाई खतरा भएको र धम्की आएको जनाउँदै ललितपुर जिल्ला अदालतका कर्मचारीहरु सर्वोच्च अदालत पुगेका छन् । उनीहरु कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नरहेको जनाउँदै रामशाहपथस्थित सर्वोच्चमा पुगेका हुन् ।

जिल्ला अदालतका कर्मचारीहरू कार्यालय छाडेर सर्वोच्च अदालत गएपछि ललितपुर जिल्ला अदालतको काम ठप्प भएको छ । नेपाल बार एशोसिएशनले आज पनि सबै अदालतमा विरोध प्रदर्शन गर्ने भएको छ । आफ्ना मागको उचित सम्बोधन नभएसम्म विरोध कार्यक्रम जारी रहने बारले जनाएको छ । 

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि भएको हात हालाहालको घटनालाई लिएर कानुन व्यवसायी र कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

गत बुधबार जिल्ला अदालत ललितपुरमा कार्यरत नायव सुब्बा तामाङमाथि लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीले अस्ति अदालतको काम ठप्प पारेका थिए । बारले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा हिजो बहसपैरवी नगरेर विरोध जनाएको हो । उनीहरुले आज पनि मलुकभरका अदालतमा विरोध कार्यक्रम राखेका छन् ।

टिप्पणीहरू