बाहुनलाई गाली गर्ने, बाहुनकै खुट्टा ढोग्ने ?

बाहुनलाई गाली गर्ने, बाहुनकै खुट्टा ढोग्ने ?

जनता समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकमा विधि, विधान र प्रक्रियाको प्रश्न उठाएर अध्यक्ष उपेन्द्र यादवलाई ‘पानीपानी’ बनाउने पात्र हुन्, अधिवक्ता हरेन्द्र राय यादव । हिक्मत कार्की, राजेन्द्र राई, ठाकुर गैरेदेखि खिमलाल भट्टराई, रामकुमारी झाँक्रीसम्म अखिलको अध्यक्ष हुँदा उनीहरूसँगै विभिन्न कमिटीमा बसेर काम गरेका उनी यज्ञराज सुनुवार ताहाचलमा स्ववियु सभापति हुँदा एउटै कमिटीमा थिए । पछि युवा संघतर्फ मोडिए । चमिना भट्टराईसँगै युवा संघको रचनात्मक विभागमा काम गरे । कुनै समय महेश बस्नेतसँग एउटै बिच्छ्यौनामा सुत्थे । बुटवल महाधिवेशन हुँदा महेश बस्नेतहरूले युवासंघको विधानलाई तिनाउ खोलामा बगाएसँगै सो क्रियाकलापको विरोध गरे । चाकडी गर्नेलाई आफ्नो ठानिने र आलोचनात्मक चेत भएकालाई वर्ग शत्रु मानिने कम्युनिष्ट रोगको शिकार भए उनी पनि । महाधिवेशनमा महेश बस्नेत प्रवृत्तिको विरोध गर्दा तीन घण्टा अपहरणमा परेको सुनाउँछन् । पछि रामचन्द्र झा, लक्की शेर्पासहित पेरिसडाँडा पुगेर प्रचण्डको हातबाट टीका लगाई हँसिया हथौडाको राजनीति थाले । गणेशमान पुन अध्यक्ष हुँदा वाइसियल उपाध्यक्षको जिम्मेवारी दिए प्रचण्डले तर समावेशिता कार्यान्वयनको सवालमा प्रचण्ड पनि अनुदार रहेको पाएपछि राजपाको सहमहासचिव बन्न गए । राजपाको अधिकांश घोषणापत्र र दस्तावेज लेख्ने उनै थिए भनिन्छ । पार्टी एकीकरणपछि जसपा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । झण्डै एक दशकदेखि कानुनी अभ्यास गर्दै आएका उनी श्री अग्रगमन ल फर्म एण्ड रिसर्च सेण्टरका सञ्चालक हुन् । 

– हरि गजुरेल

केन्द्रीय समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवसँग चर्काचर्की परेको भन्ने सुनियो । वास्तविकता के हो ? 

– हाम्रा अध्यक्ष उपेन्द्र यादव विसर्जनवादतिर जाँदै छन् । समाजवादी मोर्चाको मस्यौदा  सम्झौतापत्र र घोषणा अनुमोदन गर्नुपर्ने थियो । राजेन्द्र श्रेष्ठले पढेर सुनाउँदै भन्नुभयो, ‘समाजवाद आउन गाह्रो छ । हामीले यात्रा शुरु गरिसक्यौं, नेपालगञ्ज हुँदै धनगढी, कैलाली पुग्छौं ।’ मैलेचाहिँ समाजवादी मोर्चा थानकोट पनि कट्दैन भन्ने तर्क राखें । गजेन्द्रनारायण सिंहले मधेशको मुद्दा बोकेर सद्भावना पार्टी स्थापना गर्नुभएको हो । त्यो पार्टीका सयौं नेता–कार्यकर्ता अहिले जसपासँगै छन् । मधेश विद्रोहपछि उपेन्द्र यादवले मधेशी जनाधिकार फोरम बनाउनुभयो तर सत्ता प्राप्तिसँगै एजेण्डाहरूलाई तिलाञ्जली दिँदै बिर्सन थाल्नुभयो । यसअघि पनि अनेकन मोर्चा बनेका हैनन् ? वाम मोर्चा, ३२ दलीय, ७ दलीय, मधेशी ६ दल... ।

कांग्रेस, एमालेको संयुक्त मोर्चाले ज्ञानेन्द्रविरुद्ध लड्यो । मोर्चाहरू बन्दै, भत्किँदै आए । अहिलेसम्म कुनै मोर्चाले मूर्तरूप लिएर लक्ष्यमा पुगेको उदाहरण छ ? दस्तावेजमा उपेन्द्रजीले मधेश, समावेशिता, दलित, जनजातिको मुद्दा लेख्नुभएको छ तर गइरहनुभएको छ विसर्जनवादतिर । मन लागेका बेला माओवादीसँग गठबन्धन गर्नुहुन्छ फेरि राति–राति केपी ओलीकोमा पुग्नुहुन्छ । एमालेको भोट लिएपछि फेरि माओवादीसँग मिसिन जानुहुन्छ । यो मोर्चा बन्नुअघि उपेन्द्र यादवले कुन– कुन कमिटीमा छलफल चलाउनुभयो ? कुन विधि र सिद्धान्तबाट पार्टी चलाउनुभयो ? मन लागेको बेला चार पार्टीका चार शीर्ष नेताले कुनै होटलमा बसेर मस्यौदा बनाउँदैमा समाजवाद आउँछ ? हिजो माओवादी/एमाले दुई तिहाइको सरकार थियो । नेकपा ५० वर्ष टिक्छ, अरुले चिहाउनै पर्दैन भन्ने परिकल्पना गरिएको थियो । समान विचार भएका भनिएका कम्युनिष्टको एकता त वर्ष दिन टिकेन भने अहिले अलग–अलग दलको मोर्चा बनेको छ । माधव नेपाल, प्रचण्ड, उपेन्द्र र विप्लवका सिद्धान्त र विचार नै अलग–अलग छन् । आइतबारदेखि शुरु भएको विधान अधिवेशनले विधान बनाइसकेपछि १५ दिनमै मोर्चाले पार्टी एकीकरणको प्रस्ताव ल्यायो भने विधान कहीँ टोकरीमा फाल्ने त होइन ?

समाजवादी मोर्चा थानकोट कट्दैन भन्ने तर्क राख्नुभयो, विरोधमा किन उत्रनुपरेको ? 

– विप्लव, प्रचण्ड, माधव रहेको बाहुनवादी मोर्चामा उपेन्द्र यादव एक जनामात्र मधेशी किन र कसरी मिसिनुभयो ? जसपाको आधी क्याडर एमालेबाट भित्रिएका, बाँकी पूर्व राजपा, तमलोपाबाट आएका छन् । समाजवादी मोर्चा हुँदै भोलि पार्टी नै बन्ने कन्सेप्ट आउला, अर्काे पृष्ठभूमिबाट आएकाहरू बस्छन् कि बस्दैनन् ? मोर्चा यो सरकार रहुञ्जेल त रहला, यसपछि यसको केही अर्थ छ ? मानौं यो सरकार ढल्यो र कांग्रेस, एमालेको बन्यो । त्यस समय हाम्रो पार्टीलाई सरकारमा अवसर दियो भने जान्छ कि जाँदैन ? यदि जान्छ भने यो मोर्चाको आयु कति दिन ? अर्काेतिर मोर्चामै रहेका माधव नेपालले यथास्थितिमा यो बजेट पास गर्न दिन्न भन्नुभयो । हाम्रो पार्टीले पनि त्यही निर्णय गर्‍याे। प्रचण्डले बजेट पेश गर्नुभएको छ । उहाँको मोर्चाका दुईवटा घटक बजेटको विरोधमा छन् । यसैबाट प्रमाणित हुन्छ, यो मोर्चा थानकोट कट्छ कि कट्दैन ? दल होइन दोकान खोलेर देश र मधेशीलाई ठग्ने काम बन्द गरौं । एकातिर, बाहुनलाई गाली गरेर मधेशी मत कलेक्सन गर्ने, जितेर आएपछि तिनै बाहुन भनिएका केपी ओली, प्रचण्ड, देउवाको खुट्टा ढोग्न जाने यो विरोधाभाषपूर्ण भयो । 

गत निर्वाचनमा अन्तर्घात गरेको र उपेन्द्र यादवलाई हराउन भूमिका खेलेको आरोप लागेका १५८ जनालाई कारबाही गर्ने प्रक्रियाबाट अध्यक्ष उपेन्द्र यादव एकाएक किन ब्याक भएको ? 

– केन्द्रीय समिति भनेको पार्टीको सर्वाेच्च निकाय तर वर्ष दिनमा बल्ल एक पटक यसको बैठक डाकिएको छ । बैठक बोलाउँदा विधान मस्यौदा प्रत्येक केन्द्रीय सदस्यको हातमा हुनुपर्छ कि पर्दैन ? संयोजक रकम चेम्जोङले दुई÷चार मीनेट पढेर विधान मस्यौदा पास गरिदिनुहोस् भन्नुभयो । प्रतिवेदनको अनुहारै नदेखीकन ४१५ जनाले पास गर्न सक्छन् ? यस्तो पार्टीले लोकतन्त्र, समाजवाद, विधि विधानको कुरा गर्न सुहाउँछ ? प्रकाश अधिकारीले उपेन्द्र यादवलाई हराउने, पार्टीको विधि विधानविपरीत काम गर्ने १५८ जनालाई कारवाहीको प्रस्ताव गरिएको प्रतिवेदन पढ्दै हुनुहुन्थ्यो । शुरुमा चार जनालाई नसियत दिएको, रेणु यादवसहित सप्तरीबाटै ३८ जना नेतालाई कारवाही गरिएको भनेर । उपेन्द्रलाई हराउनेमा मृगेन्द्र यादवदेखि मनिष सुमनसम्मको नाम थियो । हुटिङ भएपछि प्रकाश अधिकारीले पढ्न रोक्नुभयो । उपेन्द्र यादवले उठेर चित्त नबुझे निवेदन दिनुहोस् भन्नुभयो । त्यसमा हुटिङ भएपछि प्रतिवेदन पेश गर्नबाट ब्याक हुनुभयो । यसरी केन्द्रीय कमिटीको आँखामा पट्टी बाँधियो । प्रतिवेदन पढ्न दिइएन । राजनीतिक समितिले के के निर्णय गर्‍याे ? कसरी कुन विधि प्रक्रियाबाट निर्णय भयो ? निर्णय गर्ने अरुले, अनुमोदन केन्द्रीय कमिटीको टाउकोमा हाल्ने ? यस्तो पनि सिष्टम हुन्छ ? एक वर्षमा केन्द्रीय कमिटीको बैठक बोलाउने, दुई मीनेट बोल्न नदिने । उपेन्द्र यादवसँगै अगाडि मञ्चमा बस्नुभएकी रेणु यादवले दुई मीनेट समय माग्दा दिइएन र बैठक स्थगन गराइयो । नाममा मात्र समाजवाद झुण्डाएर समाजवाद आउने हो कि व्यवहार पनि त्यसअनुरूपको हुनुपर्ने हो ? 

विद्यादेवी भण्डारीले केहीअघि अध्यादेश र नागरिकता विधेयकलाई गलत भन्नुभएको छ । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै सर्वाेच्चले कार्यान्वयनका लागि बाटो खुलाइदिएको छ । पहिला र अहिलेको विधेयकमा केही फरक छ र ?

– राष्ट्रपति भनेको देश र जनताभन्दा माथिको पद । तर विद्यादेवी भण्डारीले पार्टीको निर्देशन मानेर सोहीअनुसार निर्णय गर्नुभयो । संसदले पास गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्र्नेमा त्यसो गर्नुभएन । केपी ओलीलाई मधेशी दलको सपोर्ट हुँदासम्म राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयो, जब मधेशी दल रिसाएर एमाले सत्ताबाट बाहिरियो, तब उहाँले प्रमाणीकरण नगरी फिर्ता पठाइदिनुभयो । यो विभेदको राजनीति हो । अहिले मधेशवादी दलको समर्थन प्रचण्डलाई छ । मधेशी दलकै समर्थनमा रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको विधेयक अदालतले हेर्न मिल्छ कि मिल्दैन ? यो छुट्टै कुरा हो तर सर्वाेच्चको आदेशपछि नागरिकता विधेयक पहिलेभन्दा बलियो भएको छ । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाले अनुमोदन भएसँगै यो विधेयक ऐतिहासिक भयो । अधिकांश नेपालीको चिन्तन, नागरिकता समस्या मधेशीको मात्र हो भन्ने छ । यो गलत सोच हो । बोर्डर खुला छ, पासपोर्ट छैन, त्यहाँ बेटी र रोटीको सम्बन्ध छ । हाम्रा छोरी इण्डिया लैजाने भन्दा उताका छोरी यता धेरै आएका छन्, दाइजोका कारण । दाइजो यता पाँच लाख दिए पुग्नेमा उता आठ लाख दिनुप¥यो । त्यही कारण भारतीयमूलका बुहारी भित्रिने गरेका छन्, बढी । 

नागरिकताको समस्या दार्जिलिङ, झापा, सुनसरी, दार्चुला, नेपालगञ्जमा पनि छ । त्यहाँ पहाडी समुदाय छ । जुन समस्या मधेशीले भोगिरहेका छन्, त्यही समस्या पहाडे र हिमाली भेगका नागरिकले समेत व्यहोरिरहेका छन् । यो समग्र देशकै समस्या हो । समाज रहुञ्जेल अन्तर्राष्ट्रिय विवाहवारी चल्छ र यो समस्या पनि रहिरहन्छ, रोकिँदैन ।

प्रधानमन्त्री प्रचण्ड दिल्ली उड्नुअघि सोही दिन नागरिकता विधेयक प्रमाणीकरण भयो । यसमा भारतको स्वार्थ छैन भन्ने आधार के त ? 

– नेपालको नेताहरूलाई चाकडी मन पर्छ । केपी ओलीको पालामा पनि नागरिकता विधेयक अगाडि बढाइएकै हो । मारवाडीहरूसँग प्रशस्त पैसा छ । पाँच/सात वर्ष व्यापार व्यवसाय गरिसकेपछि स्थानीय प्रशासनलाई किनेर नागरिकता लिन्छन् र राजनीतिमा छिर्छन् । त्यसरी नागरिकता लिनेचाहिँ नेपाल र मधेशी समुदायका लागि अभिषाप हुन् । हाम्रा अधिकारमाथि उनीहरूले खेलवाड गर्ने देखिन्छ ।

नागरिकता विधेयकमार्फत दशौं लाख भारतीयले नेपाली नागरिकता हात पार्ने र देश सिक्किमीकरण र फिजिकरणको बाटोतर्फ पुग्ने तर्कमा कत्तिको दम छ ?

– यो मुलुक यसैगरी चलिरहन्छ । हाम्रा शासक पटक–पटक नेपाल बुझाउन गएका होइनन् र ? जवाहरलाल नेहरूले लिएनन् । उनीहरूले यसैगरी आफ्नो अघोषित उपनिवेशको रूपमा चलाइरहन्छन् । जति नेपाली सांसद छन्, ती सबैको प्रोफाइल भारतीय दूतावाससँग छ । शेयर आइपिओजस्तै दैनिक अपडेट भइरहन्छ, सांसदहरूको प्रोफाइल । कुन जिल्लामा कुन माननीयले के गरिरहेको छ, सबै अपडेट हुन्छ भने किन सिक्किमीकरण गरिरहनुपर्‍याे ?

एकाथरीको तर्क छ, यो नागरिकता प्रकरण राष्ट्रघाती कदम हो, अर्काेथरी भन्दै छन्, राष्ट्रवादी । होचाहिँ के त ?

– न राष्ट्रघाती, न राष्ट्रवादी । यो त संविधानले दिएको अधिकार हो । राज्यले दिन ढिलासुस्ती गरेको थियो । सर्वाेच्चको फैसलापछि सबै पीडित नेपालीले न्याय पाएका छन् । तर यो फैसलापछि नागरिकता पाउनेको दह्रो अनुगमन गर्नुपर्छ । सही पीडितको ठाउँमा डमीहरू धेरै छन् । २५ जनाको ठाउँमा २ सय जना छिर्ने अवस्था छ यहाँ । झण्डै ४ देखि ५ लाख नागरिकता पाउनबाट बञ्चित छन् भन्ने आंकडा छ तर नागरिकता पाउने १२ लाखदेखि १६ लाख पुग्न सक्छन्, दह्रो अनुगमन नहुने हो भने ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले नयाँ नजिर कायम गरेकै हो त ? 

– नागरिकता विधेयकमा अदालतले अन्तरिम आदेश जारी गरेन । यसले गर्दा नजिरको रूपमा स्थापित भयो । हिजोसम्म राष्ट्रपतिले प्रमाणीकरण गरेको चिज अदालतमा जाँदैन थियो । रेशम चौधरीको केश यही हो । मन्त्रिपरिषदले आममाफि दिएपछि पीडित पक्ष अदालत गएको छ । र, एउटै प्रकारको मुद्दामा फरक–फरक आदेश आएको छ । एउटा नजिरले जिताएको छ, अर्काे नजिरले हराइदिएको छ । जसको पहुँच छ तिनले सफाई पाएका छन्, पहुँच नपुग्ने जेल गएका छन् । उदाहरणका लागि साइबर क्राइमसम्बन्धी हालैका केही अपराध हेर्दा हुन्छ । 

एमाले, माओवादी हुँदै मधेशवादी दलमा आइपुग्नुभएको छ । दल फेरी फेरी राजनीति गर्दा जीवनमा कत्तिको असर पर्दाे रहेछ ? 

– मैले दल कहाँ फेरेको छु ? एमालेमा त उपेन्द्र यादव, अशोक राईहरू पनि थिए नि ! म युवा संघ र मधेशको इमान्दार सिपाही । सार्वजनिक मञ्चबाटै महेश बस्नेतले ‘हरेन्द्र मधेशको बम बारुद हो’ भनेर सम्बोधन गर्ने समय थियो । केपी ओलीलाई अध्यक्ष बनाउनमा मेरो पनि ठूलो भूमिका छ । लहानमा महेश बस्नेतले युथ फोर्स बनाउँदा १७ जनाको समिति उनीसँग थियो, मसँग ३२ जनाको तर मैले केपी ओली र महेश बस्नेतलाई सहयोग गरेबापत डण्डा पाएँ । उपाध्यक्ष बनाउने आश्वासन दिइयो । बुटवल महाधिवेशनमा हजारौंको बीचमा विद्रोह गर्दा महेश बस्नेतले तीन घण्टा अपहरण गरे, म र मेरा साथीहरूलाई । २४० सिटसहित माओवादी ठूलो पार्टी थियो । प्रचण्डजीले लाजिम्पाटमा बोलाएर वाइसियल उपाध्यक्षको जिम्मेवारी दिनुभयो । मधेशमा एमाले सिध्याउने काम पनि भयो । बाबुराम, वैद्य, मातृका निस्किएर पार्टी टुक्रा–टुक्रा भएको बेला प्रचण्डजीले पनि हाम्रा माग पूरा गर्नुभएन र राजपातिर लागियो । हामीले काँध थापेर उपेन्द्रजीलाई जोगाइदियौं । समयक्रममा उहाँ फेरि बाघ बनेर आउनुभयो र सबैलाई खान खोज्नुभएको छ । 
 

टिप्पणीहरू