प्रधानमन्त्रीलाई औंला ठड्याउन एमालेले बोलायो बैठक
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न उसले दलको बैठक बोलाएको हो । आज प्रतिनिधिसभाको बैठकअघि डाकिएको संसदीय दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसहित संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुने बताइएको छ ।
प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले नेताहरुले सो को विरोध गरिरहेका छन् । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य भएको बताएका छन् ।
संसदीय दलको बैठक डाक्नुअघि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य भएकाले यस विषयमा प्रतिनिधिसभाका सदस्यहरूको ध्यान गम्भीर रूपमा जानुपर्ने बताएका थिए ।
संसदमा आक्रामक हुने देखिएको एमालेले यसबारे प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको बुझिएको छ ।
टिप्पणीहरू