त्रिचन्द्रमा भोलि प्राध्यापकहरुको पेन डाउन
त्रिचन्द्र क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले वृद्धि गरेको तलब नपाएको विरोधमा प्राध्यापक र क्याम्पसका कर्मचारीले भोलि एकदिन पेन–डाउन गर्ने घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्ष २०७९–८० को शुरुदेखि लागू हुनेगरी वृद्धि गरिएको १५ प्रतिशत तलब हालसम्म पनि नपाएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस इकाइ समितिका सभापति टीकाराज कैनीले बताए । क्याम्पसमा कार्यरत तीन सय प्राध्यापक र एक सय कर्मचारीले बढेको तलब नपाएको जानकारी दिइएको छ ।
‘तलब वृद्धि गरेको एक वर्ष बितिसक्यो तरपनि हामीले अहिलेसम्म बढेको तलब पाएका छैनौं । तलबले मात्र गुजारा गर्ने शिक्षकलाई साह्रै सास्ती भएको छ । क्याम्पस प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनको घोषणा गरेका हौं’, कैनीले गुनासो गरे ।
क्याम्पस प्रशासनले प्राध्यापकमाथि अन्याय गरेको बताउँदै उनले अब पनि आफूहरुको माग सुनुवाई नभए दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
टिप्पणीहरू