देश कालो सूचिमा पर्नै लाग्दा सचिवहरु मध्यरात क्यानाडातिर

देश कालो सूचिमा पर्नै लाग्दा सचिवहरु मध्यरात क्यानाडातिर

कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवाली र प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद सचिवालयका सचिव उदयराज सापकोटा राति क्यानाडा जानुभएको छ । उहाँहरु एफएटीएफको वार्षिक साधारणसभामा भाग लिन जानुभएको हो ।

मुलुक सम्पत्ति शुद्धिकरणको मामिलामा ग्रे लिस्टमा पर्ने सम्भावना बढेको सन्दर्भमा हुन लागेको उक्त साधारणसभालाई विशेष चासोका साथ हेरिएको छ । उक्त बैठकमा नेपालको तर्फबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेतृत्व गर्ने कार्यक्रम छ । 

आइतबारदेखि हुने बैठकमा बैंक,सरकारी र प्रहरीका गरेर झण्डै दुई दर्जन अधिकारी पुग्दैछन् । सचिवहरु कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा राति २ बजे काठमाडौंबाट दोहा हुँदै क्यानाडा प्रस्थान गरेका हुन् ।

सोही क्रममा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापा हिजो राति पौने १० बजे एअर इण्डियाको उडानमा नयाँ दिल्ली हुँदै क्यानाडा गएको बताइएको छ ।

सचिवहरुसँगै नेपाल राष्ट्र बैंकबाट एक जना कार्यकारी निर्देशक,एक जना निर्देशक र दुई जना उपनिर्देशक पनि क्यानाडा गएका छन् । गभर्नर अधिकारीको भने भोलि मात्र त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू