सहकारी पीडितहरुद्वारा शक्ति प्रदर्शनको तयारी

सहकारी पीडितहरुद्वारा शक्ति प्रदर्शनको तयारी

-राजेशचन्द्र राजभण्डारी

ओरेन्टेल सहकारी, कान्तिपुर सहकारी, खुशी सहकारी, देउराली सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिवशिखर वहुउद्देश्यीय सहकारी, सुमो सहकारीलगायत तीन दर्जनभन्दा बढी सहकारी संस्थाका पीडित सदस्यहरूले डेढ महिनादेखि आन्दोलन गर्दासमेत सरकारले नसुनेपछि सहकारी पीडित बचतकर्ता महासंघको संघर्ष समितिले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको छ ।

आगामी बुधकार माइतीघर मण्डलामा ५० हजार सहकारी पीडितले आफ्नो बचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन गर्ने भएका छन् । समितिले जेठ २० गतेदेखि काठमाडौं माइतीघर मण्डलामा चरणबद्व आन्दोलन गरिरहेको छ । हालसम्म सरकारले उनीहरुको मागलाई बेवास्ता गरेका कारण असार २७ गतेका दिन कम्तीमा ५० हजार पीडितहरू सडकमा उत्रिने संघर्ष समितिका संरक्षक पुस्लभ केसीले बताए ।

पीडितहरूले आफूले खाली पेटमा पटुका कसेर सहकारीमा जम्मा गरेको रकम सहकारीका सञ्चालकले फिर्ता नगरेको, संघर्ष समिति मार्फत् देशभर मसाल बालेर सरकार खोज्दासमेत पीडितले न्याय नपाएपछि व्यापक रूपमा आन्दोलन गर्ने तयारी गरिएको उनको भनाई छ ।

सरकारले सर्वसाधारणले जम्मा गरेको बचत रकम अपचलन गरेर फरार भएका सहकारी सञ्चालकलाइ कारबाही नगरेपछि दिनहुँ सहकारी संस्था बचतकर्ताको रकम कुम्लाएर भाग्ने क्रम बढेको हो । पीडितहरूले संघर्ष समिति गठन गरेर चरणबद्व रूपमा माइतीघर मण्डलामा २४ घण्टे धर्ना दिँदै आएका छन् ।

सहकारी संस्था खोल्न दिने, तर त्यसको अनुगमन र नियमन गर्ने निकाय प्रभावकारी नहुँदा सहकारी सञ्चालकहरू एकपछि अर्को सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम रकम लिएर भाग्ने क्रम जारी छ । सरकारले अहिले चलाइरहेको भ्रष्टाचारविरूद्वको अभियानमा सहकारी ठगी तथा अपराध प्रकरणलाई समेत समेटेर सर्वसाधारणको बचत रकम फिर्ता गराउन अग्रसर हुन उनीहरुले आग्रह गरेका छन् ।

टिप्पणीहरू