बजारमा पठाउने सामानमा अनिवार्य लेबल लगाउन निर्देशन
भन्सार विभागले आगामी साउन १ गतेपछि तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि अनिवार्य लेबल लगाउन निर्देशन दिएको छ ।
मालवस्तुको प्याकिङ्गमा पैठारीकर्ता र बजार वितरकको लेबल लगाउन विभागले निर्देशन दिएको हो । पैठारीकर्ता र बजार वितरकको नाम, ठेगाना, इमेल ठेगाना, वेभसाइटलगायतका विवरण राखेर लेबल लगाउनुपर्ने विभागले जनाएको छ ।
कच्चा पदार्थको रुपमा पैठारी हुने मालवस्तु, औद्योगिक मेशिनरी तथा उपकरण एवं निर्माण कार्यमा प्रयोग हुने सामानबाहेक उपभोक्तालाई प्रत्यक्ष रुपमा बिक्री वितरण गरिने सबै प्रकारका सामानमा लेबल लगाउनैपर्ने विभागको भनाइ छ । त्यसैगरी, मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक ईकाइमा लेबल लगाउन नमिलेको खण्डमा प्याकिङ्ग गर्दा हुने सानो ईकाइमा लगाउनुपर्नेछ ।
एउटै पैठारीकर्ताको धेरै बजार वितरक हुन सक्ने उल्लेख गर्दै विभागले बजार वितरकको लेबल सम्बन्धित बजार वितरकले नै लगाउन सक्ने जनाएको छ । विभागका अनुसार लेबल नेपाली र अंग्रेजी भाषामा हुनुपर्ने र लेबलको दुरुपयोग हुन नदिन पैठारीकर्ता तथा वितरकले लेबल लगाएर पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्नुपर्नेछ ।
टिप्पणीहरू