प्रतिनिधिसभा बैठक १ बजे, आज पनि अवरोधको सम्भावना उत्तिकै
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । गत मंगलबारदेखि अवरुद्ध संसद बैठक आज दिउँसो बोलाइएको हो ।
आजको बैठकको कार्यसूचीमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरुबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ । त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० माथिको दफावार छलफलको प्रस्ताव प्रस्तुत गरिँदैछ ।
राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक–२०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक आजको प्रतिनिधिसभा बैठकमा टेबुल गरिने संसद सचिवालयले जनाएको छ ।
तर, एमाले, राप्रपा र रास्वपाले अवरुद्ध गर्दै आएकाले आज पनि संसद बैठक चल्ने सम्भावना कम छ । यसबीचमा संसद बैठकमा देखिएको अवरोध हटाउने सम्बन्धमा खासै प्रगति नभएकाले अवरोधको सम्भावना उत्तिकै छ । तीन वटै विपक्षी दलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले मुलुकको स्वाधिनतामाथि नै प्रश्न चिन्ह उठेको बताउँदै आएका छन् ।
एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ । सभामुखले अवरुद्ध संसद बैठक खुलाउन प्रयास गरे पनि खासै प्रभावकारी देखिएको छैन ।
टिप्पणीहरू