मगरको फेसबुक स्टाटसले कोशी सरकारमा तहल्का

मगरको फेसबुक स्टाटसले कोशी सरकारमा तहल्का

कोशी प्रदेशसभा सदस्य नारायणबहादुर बुर्जा मगरले आफूलाई पार्टीले अन्याय गरेको र न्यायोचित व्यवहार गरेको भन्दै प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने बताएका छन् । उनले आज दिउँसो फेसबुकमार्फत् उक्त सनसनीपूर्ण खबर सार्वजनिक गरेका हुन् । 

उनको सचिवालयले फेसबुकमा ‘म र मेरो मतदाता माथी बारम्बार अन्याय भयो । दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठन प्रति मेरो विमति छ । यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट समेत राजिनामा दिने मनसाय बनाई सकेको छु,’ उल्लेख गरेका छन् । 

उनको निजी सचिवका रुपमा कार्यरत होम बस्नेतले उक्त पोष्ट सही भएको जनाउँदै व्यापक सेयर गरेका छन् । कोशी प्रदेशको आज पुनर्गठित मन्त्रीमण्डलमा मगरको नाम मन्त्री बन्ने सूचीमा भएपनि अन्तिम क्षणमा हटाइएको थाहा पाएपछि उनले यस्तो मनस्थिति बनाएका हुन् ।

फेसबुक पोष्टपछि असार २१ गते नेपाली काँग्रेसका तर्फबाट कोशी प्रदेशमा मुख्यमन्त्री बनेका उद्धव थापाको प्रदेश सरकारको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ । अहिले नै प्रदेशमा सरकार गठनको निम्ति आवश्यक संख्या प्राविधिक रुपमा पुर्याइएको छ । सभामुखको सहमतीय हस्ताक्षरमा एकमत बढी भई कोशी प्रदेशमा नयाँ सरकार गठन गरेको हप्ता दिन पनि नबित्दै आएको मगरको स्टाटसले तहल्का मच्चाएको हो ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निकै कडा प्रतिस्पर्धामा दोस्रो पटक प्रदेशसभा सदस्य बनेका मगर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट विजयी भएका हुन ।

टिप्पणीहरू