प्रधानमन्त्री पत्नीको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

प्रधानमन्त्री पत्नीको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी स्वर्गीय सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सीताको निधनलगत्तै बसेको क्याबिनेटको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । 

नेपालको कम्युनिष्ट आन्दोलनमा रहेर समाज रुपान्तरणका लागि सीताले पुर्याएको योगदानको सम्मानमा नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

‘संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्षलगायतका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र संघर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ’, मन्त्री शर्माद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।’

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो रोगबाट पीडित सीताको उपचारकै क्रममा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो । अहिले पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

टिप्पणीहरू