प्रहरी इन्सपेक्टरले कार्यालयभित्रै हातखुटट बाँधेर कुटेपछि प्रहरी जवान मरणासन्न
चेनअफ कमाण्डमा चल्ने फौजी संगठन अनुशासित हुन्छ भन्ने गरिन्छ । तर, तीनै फौजी संगठनभित्र अनुशासन मिचिएका थुप्रै घटनाहरु बाहिर आइरहन्छन् । पछिल्लो समय प्रहरी कार्यालयभित्रै इन्स्पेक्टरले जवानलाई पिटेको बर्बरतापूर्ण घटना सार्वजनिक भएको छ ।
हुन त, प्रहरीभित्र अझै पनि तल्लो दर्जाका कर्मचारीमाथि हेयको व्यवहार गर्ने गरेको आरोप छ । त्यस्ता आरोपलाई बल पुग्नेगरी जिल्ला प्रहरी कार्यालय सिरहाका एक सिपाहीलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइरहेको भिडियो बाहिरिएको हो ।
जलेश्वर नगरपालिका–८ फूलहट्टा घरभई जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि बाँधेर यातना दिइएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । यसमा जोडिएका छन्, सोही कार्यालयका इन्स्पेक्टर हेमन्त राई । राईमाथि हातखुट्टा बाँधेर रायलाई यातना दिएको आरोप लागेको छ ।
प्रहरी संगठनभित्र गुम्सिएर रहेको पुरानै ठालुवादी चेतको उदाहरण बनेको उक्त भिडियोमा प्रहरी जवान रायले भक्कानिएर रुँदै बाँधिएको हात खोलिदिन अनुरोध गरेको देखिन्छ । तर, उनीसँग दोहोरो सम्वादमा रहेका व्यक्तिले ‘कहाँ रक्सी खाईस्’ भनेर निर्दयी प्रश्न गरेका छन् । ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस् । रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु’, रायको बिलौना भिडियोमा सुनिन्छ ।
भिडियोमा इन्स्पेक्टर राईले रक्सी खाए नखाएको नतिजा जाँचपछि निस्किन्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै गरेको पनि सुनिन्छ । रायले भने रुँदै ‘मलाई यसरी यातना नदिनुस् बरु मारिदिनुस्’ भनेर जीवनदेखि नै निराशा भएको बताएका छन् ।
निरन्तर अधिक ड्युटी गराएको गुनासो गर्न आफूकहाँ आएका बखत रायलाई इन्स्पेक्टर राईले गाली गलौज गरेका र आक्रोशित रायले पनि जवाफ फर्काएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको भनिएको छ । रायका आफन्तले न्यायको निम्ति अदालत जाने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले ’त्यस्तो केही नभएको’ भन्दै उल्टै यातना दिने व्यक्तिको बचाउ गरे । उनले प्रहरी जवान रायलाई ‘बदमास हो’ पनि भने । घटना स्वीकार गरेका डिएसपी पाण्डेले बाहिर हल्ला गरिएजस्तो यातना नदिएको दाबी गरे । सिपाही रायले मादक पदार्थ सेवन गरेको भनेर दोष उनैलाई लगाउने खोजेपनि मेडिकल रिपोर्टमा त्यस्तो नदेखिएको बताइएको छ ।
यता, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्ने बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय सिरहाको नवनिर्मित आवास भवन उद्घाटनमा पुगेका उनले घटनाको आवश्यक छानबिनका लागि समिति गठन गरिसकेको जानकारी दिए । भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले आजै छानबिन समिति गठन गरेको छु । समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुन्छ ।’
सोही घटनाको विरोधमा आज साँझ माइतीघरमा हाम्रो टिम नेपालले कार्यक्रम गरेको छ ।
टिप्पणीहरू