सामाजिक सञ्जाललाई कानुनले बाँध्ने तयारी अन्तिम चरणमा
सरकारले फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्न नयाँ कानुन बनाउने भएको छ । सामाजिक सञ्जालको खुला प्रयोगले बेथिति बढेपछि सरकार कानुनी दायरमा ल्याएर व्यवस्थित गर्ने निर्णयमा पुगेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाजिक सञ्जाललाई व्यवस्थित गर्न कानुन निर्माणको गृहकार्य भइरहेको जानकारी दिनुभयो । आज राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले डिजिटल साक्षरता प्रवद्र्धन र सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याएर मर्यादित बनाउन मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।
आगामी आर्थिक वर्षमा कानुन ल्याइने मन्त्री शर्माको भनाई छ । कानुन बनाएर नै सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने जानकारी दिँदै उहाँले राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
टिप्पणीहरू