यात्रुलाई विमान नजिकैबाट फर्काएपछि अध्यागमन कर्मचारीमाथि अनेक आशंका

यात्रुलाई विमान नजिकैबाट फर्काएपछि अध्यागमन कर्मचारीमाथि अनेक आशंका

एक सयबढी नेपाली यात्रुलाई हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यरातमा फर्काइएपछि यतिबेला चर्को विवाद सिर्जना भएको छ । अध्यागमन विभागले नियतबश यात्रुहरुलाई फर्काएको भन्दै म्यानपावर व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । सलाम एयरबाट कुवेत जान लागेका १०१ यात्रुलाई गए राति र कुवेत एयरवेजबाट १६ यात्रुलाई आज बिहान विभागले विमानस्थलबाटै फर्काएको थियो । 

तीमध्ये ४० भन्दा बढी यात्रुलाई विमान चढ्नै लाग्दा फर्काइएपछि अनेक प्रश्न खडा भएको हो । उनीहरुको भीसा शंकास्पद रहेको आशंकामा राति साढे ९ बजे प्रस्थान कक्षको प्रतिक्षालयबाट अध्यागमनका कर्मचारीले राहदानी जफत गरेका थिए । ती सबै भौतिक निर्माण र घरेलु कामदारको रुपमा सिनामंगलस्थित युथ म्यानपावर प्रालि, निलकलम ह्युमन रिसोर्स प्रालि, ईन्डेक्स रिक्यु्रटमेन्ट प्रालिबाट त्यता जान लागेका थिए । 

कुल एक सय १७ जना नेपाली श्रमिक यात्रुमध्ये ८२ जनालाई राति अबेरसम्म अध्यागमन कार्यालयले रोकेको थियो । बाँकी १८ जनाको राहदानी नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोबाट खटिएको टोलीले जफत गरेको हो । बोर्डिङ पास लिइसकेका अन्यलाई पनि अध्यागमनले फिर्ता पठाएको बताइन्छ । 

जहाज चढ्न वेटिङ हलमा पुगिसकेकाको राहदानी जफत गरेपछि यतिबेला अध्यागमनका कर्मचारीको नियतमाथि गम्भीर प्रश्न खडा भएको बताइन्छ । विमानस्थल सबै दृष्टिकोणबाट निकै संवेदनशील क्षेत्र हो । त्यहाँ सुरक्षा व्यवस्थापनमा निकै कडाइ गरिएको हुन्छ । विदेश जाने यात्रुको विमानस्थल प्रवेशपछि सर्वप्रथम लगेज चेकिङ्ग गरिन्छ । 

त्यसपछि बोर्डिङ पास लिएर अध्यागमनमा जानुपर्छ । विभागले राहदानी, भिसालगायत सबै विवरण चेकजाँच गरिसकेपछि मात्रै अन्तिम सुरक्षा जाँचतर्फ पठाउँछ । यस्तोमा अध्यागमनबाट यति ठूलो भुल कसरी भयो त ? आफैंले सबै ठीक छ भनेर प्रतिक्षालयमा पठाएकाबाट राहदानी जफत गरेपछि अध्यागमनका कर्मचारीको नियतमाथि प्रश्न उठ्नु स्वाभाविकै हो । 

स्रोतले ‘सेटिङ्ग’ नमिलेपछि उनीहरुलाई अन्तिम क्षणमा फिर्ता पठाइएको दाबी गरेको छ । म्यानपावरसँग सहमतिअनुसारको ‘काम’ नभएपछि अध्यागमन कर्मचारीले उनीहरुलाई रोकेको दाबी गरिएको छ । तीनवटै म्यानपावर कम्पनीले यात्रु फर्काउनुको कारण थाहा नभएको बताएका छन् । अध्यागमनले कारणबिनै यात्रुलाई फर्काएको निलकमल म्यानपावरका निर्देशक बलराम भुर्तेलले जनआस्थासँगको कुराकानीमा बताए । 

उनका अनुसार निलकमलबाट २३ जना कुवेत जान लागेका थिए । उनीहरु सबै कानुनी प्रक्रिया पुर्याएरै जान लागेको निर्देशक भुर्तेलको ठोकुवा छ । ‘सबै जना प्रक्रिया पूरा गरेरै जान आँटेका हुन् । हामीले श्रम विभागबाट स्वीकृतिसमेत लिएका छौं । कुनै कारणबिना अध्यागमनले रोकेको हो’, उनले भने ।

तिलककुमार सारु निर्देशक भएका इन्डेक्स रिक्रुटमेण्टबाट ४६ जना कुवेत जान लागेका थिए । उनीहरुलाई पनि फर्काइएको छ । आफ्नो म्यानपावरका अधिकांशलाई जहाज चढ्न लाग्दा राहदानी जफत गरि फिर्ता पठाइएको उनीहरुको भनाइ छ । इन्डेक्सका कर्मचारीहरुका अनुसार यस विषयमा छलफल भइरहेको छ । 

सबै प्रक्रिया पुर्याएर हिँडेका यात्रुलाई अध्यागमनले रोकेपछि म्यानपावर व्यवसायीहरु आज गृह मन्त्रालय पुगेका छन् । विमानस्थलस्थित अध्यागमनका कर्मचारीहरुले बदनियत राखेर यात्रुहरुलाई फिर्ता पठाएको व्यवसायीहरुको आरोप छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेकलाल भुर्तेलले अध्यागमनले जानाजान उनीहरुलाई रोकेको बताए । 

सम्पूर्ण सेक्युरिटी जाँच गरेर प्रतिक्षालयमा पुगिसकेकालाई फिर्ता पठाइएकोमा उनले आपत्ति जनाएका हुन् । ‘श्रम विभागले संस्थागत रुपमा श्रम स्वीकृति दिएको छ । सबै चेकजाँच भएपछि फिर्ता पठाउनुले सरासर बदनियत देखिएको छ । हामीले गृह मन्त्रालय र श्रम मन्त्रालयमा कुरा राखिसकेको छौं । विभागले फिर्ता पठाएका सबैलाई क्षर्तिपूर्ति दिएर उनीहरुको गन्तव्यमा पुर्याउनुपर्छ’, उनले भने ।

टिप्पणीहरू