‘अब मालिकसँगै सरकारलाई पनि दबाब दिनुपर्छ’
श्रमजीवीसम्बन्धी सर्बोच्च अदालतको फैसला कार्यान्वयनलगायत ७ बुँदे माग राखेर थालिएको कान्तिपुर मिडिया ग्रुपको संयुक्त आन्दोलनको पहिलो चरण सम्पन्न भएको छ । कान्तिपुर संयुक्त संघर्ष समितिद्वारा हिजो अन्तरक्रिया कार्यक्रम गरेर पहिलो चरणको समापन गरिएको छ ।
यसअघि कान्तिपुरको मुख्यालय बिजनेशपार्कमा धर्ना, कालोपट्टीलगायत संघर्षका कार्यक्रम गरिसकेका छन् । विभिन्न ट्र««ेड यूनियन महासंघका प्रतिनिधिसहित समितिले छिट्टै दोस्रो चरणका कार्यक्रमहरु घोषणा गर्ने बताइएको छ ।
टे«ड यूनियन महासंघका केन्द्रीय नेतृत्वले आन्दोलनको दायरा फराकिलो बनाउनुपर्ने भन्दै श्रमजीवीका हितमा भएका कानुन कार्यान्वयनका लागि मालिकसँगै सरकारलाई पनि दबाब दिनुपर्ने बताएका छन् । श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले कान्तिपुरको न्यायपूर्ण आन्दोलनले दायरा बढाउँदै लगेको उल्लेख गर्दै अब मालिक कैलाश शिरोहियाको निवास घेराउसँगै कानुन कार्यान्वयन गर्ने निकायमा दबाब दिनुपर्ने बताएका छन् ।
हिजोको कार्यक्रममा बोल्दै उनले भने, ‘श्रमजीवीहरुलाई पटक–पटक ठगियो अब कहिलै नठगिने गरी निर्णायक आन्दोलन जरुरी छ, त्यसका लागि मालिकको घर घेर्नेदेखि अन्तर्राष्ट्रिय निकाय, सरकार र त्यस अन्तर्गतका निकायहरुमा दबाब बढाउने गरी संघर्षका कार्यक्रम तय गरिनुपर्छ ।’ श्रमजीवी–पत्रकार संघ, नेपाल कान्तिपुरको आन्दोलनमा शुरुदेखि नै साथ समर्थन रहेको र आगामी दिनमा पनि अझ उच्चस्तरको समर्थन साथ र सहभागिता रहने जैसीले बताए ।
अन्तरक्रियामा अखिल नेपाल टे«ड यूनियन महासंघका उपाध्यक्ष एसपी थापाले श्रमजीवी र पत्रकारहरुको संयुक्त बलमा आन्दोलनलाई उत्कर्षमा पुर्याउन सबै टे«ड यूनियनले मजदुरहरुलाई साथ दिनुपर्ने धारणा राखेका छन् । इम्प्रेशन नेपालका अध्यक्ष बालगोपाल थापाले मजदुरहरुले कानुनमा उल्लेखित आफ्ना अधिकारका विषयमा जानकारी राख्नुपर्ने भन्दै सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि राज्यतहमै दबाब बढाउनुपर्ने बताए । ‘सरकारले आँट गरेमा कानुन कार्यान्वयन गर्न मिडिया साहुहरु बाध्य हुन्छन् त्यसका लागि हामीले मालिकसँगै सरकारलाई दबाब दिने कार्यक्रम पनि तय गर्नुपर्छ,’ बालगोपालले भने ।
कार्यक्रममा नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक संघका वरिष्ठ उपाध्यक्ष अशोक दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्की, सामाजिक सुरक्षा कोषका प्रशासकीय अधिकृत पूर्ण नेपाली, कान्तिपुरस्थित चारवटै युनियनका अध्यक्षहरु वाग्लेसहित ढकप्रसाद खतिवडा, हरि बस्नेत, राजकुमार रिजाल, कुमार लामाले पनि कान्तिपुरका समस्याबारे धारणा राखेका थिए ।
टिप्पणीहरू