श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन माग
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति इलामले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण हुनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको छ ।
समितिका अध्यक्ष जीवन सुवेदीले वर्तमान समयको मूल्यवृद्धि र महंगी समेतलाई ध्यानमा राखी कम्तीमा श्रमिकको पारिश्रमिक न्यूनतम मासिक २५ हजार हुनुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
उनले नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्येक दुई÷दुई वर्षमा त्रिपक्षीय सहमतीका आधारमा श्रमजीवीको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने उल्लेख गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार निर्धारण नभए श्रमजीवीको हकहित र अधिकारका लागि कडाभन्दा कडा कदम चाल्न बाध्य हुने बताएका छन् ।
साथै, सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार पारिश्रमिक तोकेको अवस्थामा वर्तमान समयको कहलीलाग्दो मूल्यवृद्धि, महंगीमा मासिक १५ हजारमा श्रमजीवीले कसरी जीवनयापन गर्छन् भन्ने गम्भिर प्रश्न उठेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘रोजगारदाताका साथै सरकार समेत श्रमजीविको न्यूनतम पारिश्रमिकमा गम्भिर देखिदैँन । सरकार आफैं कानून विपरीत देशमा दुई प्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी गम्भिर विभेद गरिरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई समेत मासिक २६ हजार तोकेको अवस्थामा वर्तमान समयको कहलीलाग्दो मूल्यवृद्धि, महंगीमा मासिक १५ हजारमा श्रमजीविले कसरी जीवनयापन गर्छन् भन्ने गम्भिर प्रश्न हामीमाझ उठेको छ ।’
तसर्थ, आकासिंदो महंगीको वर्तमान अवस्थामा चिया बगानलगायत सबै क्षेत्रका श्रमिकहरुलाई एकरुपता कायम हुनेगरी न्यूनतम पारिश्रमिक मासिक २५ हजार निर्धारण गर्नुपर्ने भन्दै अन्यथा श्रमजीविको हकहित र अधिकारका लागि कडाभन्दा कडा कदम चाल्न बाध्य हुने पनि ज्ञापनमा उल्लेख गरिएको छ ।
टिप्पणीहरू