सांसद विकास कोषको रकम पार्टीको भवन निर्माणमा !

सांसद विकास कोषको रकम पार्टीको भवन निर्माणमा !

नेकपा एमालेका नेता एवम् प्रदेश सभा सदस्य दिनेश पन्थीले पार्टी कार्यालय बनाउने कार्यमा सांसद विकास कोषको रकम दुरुपयोग गरेका छन् । उनले पार्टी कार्यालय निर्माणका निम्ति कोषको लाखौं रुपैयाँ विनियोजन गरेको बताइएको छ । 

गुल्मी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट निर्वाचित उनले २०८०–०८१ को बजेटमा सांसद् विकास कोषमार्फत खर्च गर्न प्राप्त दुई करोड २५ लाख रुपैयाँमध्ये पार्टी कार्यालय बनाउन छुट्टयाइएको स्रोतको दाबी छ । लुम्बिनी प्रदेश सरकारको खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालय, पाल्पाबाट कार्यान्वयन हुने गरी उनले (धुर्कोट, मालिका र मदाने गाउँपालिका) का विभिन्न स्थानमा एमालेका दिवङ्गत नेता–कार्यकर्ताको स्मृतिमा बनाउन लागिएको भवन निर्माणमा उक्त रकम प्रयोग गर्न लागेको आरोप छ ।

उनले देवीस्थान प्रगतिशील महिला समूहलाई भवन निर्माणमा निम्ति १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी, अर्खबाङ्गमा दधिराम स्मृति भवन निर्माणका लागि २० लाख रुपैयाँ, पिपलधारामा मदन–आश्रित स्मृति भवन निर्माणका लागि १० लाख रुपैयाँ, जैसीथोकमा बोमबहादुर–टोमलाल स्मृति भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

साथै, म्यालपोखरीमा मदन–आश्रित स्मृति भवन निर्माणका लागि १० लाख रुपैयाँ, पुर्कोट दहमा आश्रित स्मृति भवन निर्माणका लागि २० लाख गरी कूल ८५ लाख रुपैयाँ छुट्टयाएको स्रोतले बतायो । नेपाली काँग्रेसका स्वर्गीय नेता रुद्रमणि भण्डारीझैं शालिन नेताको छबि बनाएका भनिए पनि उनले भवन निर्माणका लागि लाखौं रुपैयाँ छुट्टयाएपछि स्थानीयले चर्को विरोध जनाएका हुन् । 

२०५१ देखि लगातार चुनाव जितेको एमालेको सो क्षेत्रमा राम्रो राजनीतिक पकड देखिन्छ । प्रदेश सरकारले कुनै पनि योजनामा १० लाख रुपैयाँभन्दा कम खर्च गर्न नपाइने प्रावधान तोकेको छ । कोषको रकम विगतमा पनि यसरी नै दुरुपयोग हुँदै आएको थियो । विभिन्न शीर्षकमा कोषको रकम मास्ने गरिन्थ्यो । तर, पार्टी कार्यालय बनाउन खर्च गरिएकोचाँहि यो पहिलो पटक भएको बताइन्छ ।

राज्यकोषको दुरुपयोग गर्ने मनशायले थालिएको ती निर्माण कार्यलाई रोक्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा अनलाइनमार्फत् उजुरी परेको छ । नेता पन्थीले पार्टी कार्यालयमा कोषको रकम खर्च गर्ने सोच बनाइरहँदा नवलपरासीका स्वतन्त्र सांसद् खड्ग बस्नेतले आफ्नो भागको रकम विद्यालय भवन निर्माण, शून्य फोहोर अभियान र खेलकुद क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् ।

टिप्पणीहरू