सभामुखमाथि आरोप : एमाले अध्यक्षको निर्देशन शिरोधार्य गरेको वाईसिएलको दाबी
नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल अध्यक्ष सुवोध शेर्पालीले सभामुख देवराज घिमिरे एमाले अध्यक्ष केपी ओलीको निर्देशनबमोजिम प्रस्तुत हुनुभएको गम्भीर आरोप लगाएको छ ।
अध्यक्ष ओली मीटरब्याजीको संरक्षक रहेको र उनैको कारिन्दा बनेर सभामुख घिमिरेले मीटरब्याजसम्बन्धी विधेयक संसदको कार्यसूचीमा नराखेको अध्यक्ष शेर्पालीको दाबी छ । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘संघीय संसदका सभामुखले हजारौं जनताको पैसा लुट्ने मीटरब्याजीलाई कारबाही गर्न बनेको विधेयक संसदको कार्यसूचीमा नराखेर आफू मीटरब्याजीका संरक्षक केपी ओलीको कारिन्दा हो भन्ने प्रमाणित गरेका छन् ।’
यद्यपि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बेथिति अन्त्य गरेरै छाड्ने वाइसिएल अध्यक्षले बताएका छन् । ‘खबरदार ! बेथितिका नाइकेहरु, जनतालाई अन्याय हुन प्रचण्ड नेतृत्वको संयुक्त सरकारले कदापी दिँदैन’, उनी लेख्छन्, ‘त्यसको लागि जस्तोसुकै कदम चाल्न किन नपरोस् ।’
संसदमा सभामुखको भूमिकालाई लिएर पछिल्ला दिनमा माओवादी केन्द्रका नेता तथा सांसदहरुले असन्तुष्टी जनाइरहेका छन् । प्रधानमन्त्री प्रचण्डको सम्बोधनपछि प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न दिइएको, प्रतिपक्षीले प्रश्न उठाउने बितिक्कै संसद बैठक स्थगित गर्ने गरेको आरोप सभामुखमाथि लाग्दै आएको छ ।
टिप्पणीहरू