ढाकामा बनाइयो चिनियाँ लगानीमा आधुनिक ढल प्रशोधन केन्द्र
बंगलादेशको राजधानी ढाकामा आधुनिक ढल प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । चिनियाँ लगानीमा बनाइएको उक्त केन्द्रको प्रधानमन्त्री शेख हसिना वाजेद र बंगलादेशका लागि चिनियाँ राजदूत याओ वेनको उपस्थितिमा उद्घाटन गरिएको हो ।
स्थानीय ५० लाख बासिन्दाले प्रयोग गरेको फोहोर पानीलाई उक्त केन्द्रमा अत्याधुनिक उपचार गरिने बताइएको छ । यसबाट झण्डै एक हजार जनाले रोजगारी पाउने बताइएको छ ।
दाशेरकान्डी ढल प्रशोधन प्लान्ट नाम दिइएको उक्त केन्द्र चीनको आर्थिक सहयोगमा चिनियाँ व्यवसायीहरुले निर्माण गरेका हुन् । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार चीनको एक्सपोर्ट इम्पोर्ट बैंकको लगानीमा पावर चाइना छन्तु इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडको सुपरीवेक्षणमा बनाइएको हो ।
उक्त केन्द्र दक्षिण एसियाकै सबैभन्दा ठूलो ढल प्रशोधन केन्द्र भएको बताइएको छ । बंगलादेश सरकारले स्मार्ट बंगलादेश नारा दिएको यो परियोजनाको सफलताले चीन र बंगलादेशका सरकारले जनाएका प्रतिबद्धतालाई पुष्टि गरेको चिनियाँ राजदूतले बताएका छन् ।
चीनको बीआरआई शुभारम्भको १० औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त परियोजनाले दुई मुलुकबीचको सम्बन्धमा विशेष आयाम थपेको जनाइएको छ । राजदूत याओले भने, ‘करोडौं अमेरिकी डलरको चिनियाँ लगानीले बंगलादेशमा साढे ५ लाख रोजगारीको अवसर ल्याइदिएको छ ।’
टिप्पणीहरू