शुल्क वृद्धिको निर्णय फिर्ता नलिए सिटिइभिटीविरुद्ध सम्झौताहीन आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले गरेको शुल्क वृद्धिविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी निजी संस्थासँगको साँठगाँठमा शुल्क बढाइएको दावी गर्दै क्रान्तिकारीले त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । आज विज्ञप्ति जारी गर्दै अध्यक्ष पञ्चा सिंहले शुल्क वृद्धि फिर्ता लिन माग गरेकी छन् ।
सिटिइभिटले शैक्षिक सत्र २०८०-८१ का लागि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा र डिप्लोमा इन फार्मेसीमा शुल्क बढाएको छ । जसमा नर्सिङ्गमा ३१ प्रतिशत, सामान्य चिकित्सा (हचए) मा २९ प्रतिशत र डिप्लोमा इन फार्मेसीमा २५ प्रतिशतका दरले बढाइएको छ ।
अखिल क्रान्तिकारीले २४ घण्टाभित्र वृद्धि गरिएको शुल्क फिर्ता नलिए सम्झौताहीन संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने बताएको छ । साथै, यसबाट उपन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
शुल्क वृद्धिको अन्य बिद्यार्थी संगठनहरुले पनि चर्को विरोध गरेका छन् । उनीहरुले पुरानै शुल्क कायम गरि पठनपाठन गर्न माग गरेका छन् ।
टिप्पणीहरू