सशुल्क प्रसारण हुँदै आएका विदेशी च्यानल भोलिदेखि बन्द

सशुल्क प्रसारण हुँदै आएका विदेशी च्यानल भोलिदेखि बन्द

साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुँदै आएका विदेशी च्यानल बन्द हुने भएको छ । आलाकार्ट शुल्क प्रणालीका लागि मागबमोजिम बुके (च्यानलको प्याकेज) प्राप्त नभएकाले भोलिदेखि त्यस्ता विदेशी च्यानलको प्रसारण बन्द हुने अवस्था आएको हो । 

भारतीय सशुल्क (पे) टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको आलाकार्ट प्रणाली लागू गर्न सहयोग नगर्ने बताएपछि सूचना तथा प्रसारण विभागले टेलिभिजन च्यानलका उपभोक्ताको हित र शुल्क प्रणालीको पारदर्शिताका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णय कार्यान्वयनलाई दृढतापूर्वक सहयोग गरिदिन अनुरोध गरेको छ । 

भारतीय च्यानलहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको बुके बनाएर मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टा–छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने बताएको थियो । 

भारतीय पक्षको सन्देशपछि सरकारले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जानकारी दिएको हो । विभागका निर्देशक सुदीप भट्टराईका अनुसार असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलको शुल्क र बुके उपलब्ध गराउन भनिएको थियो । 

तर, कुनै पनि शुल्क तथा बुके प्राप्त नभएकाले तोकिएको समयमा नयाँ शुल्क प्रणाली लागू गर्न अवरोध देखिएको उनले बताएका छन् ।

टिप्पणीहरू