काठमाडौँबाट उडेका बुद्धका तीनवटा जहाज आकाशबाटै फिर्ता

काठमाडौँबाट उडेका बुद्धका तीनवटा जहाज आकाशबाटै फिर्ता

काठमाडौंबाट विभिन्न स्थानका लागि उडेका बुद्ध एयरको जहाजहरु बीचबाटै फिर्ता भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिमरा, भरतपुर र सुर्खेतका लागि उडान भरेका बुद्धका तीनवटा जहाज गन्तव्यमा पुग्न नसकेपछि बीचैबाट फर्काइएको हो ।  

साँझ ५ बजेर ५५ मीनेटमा सिमरा उडेको बिएचए–५६१ उडान नम्बरको बुद्धको जहाज आकाशबाटै फर्काएर बेलुकी ६ बजेर ३५ मीनेटमा काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको जनाइएको छ । उक्त जहाजमा ५३ जना यात्रु थिए । 

त्यसअघि अपरान्ह पौने ५ बजे काठमाडौँबाट भरतपुरका लागि उडेको बिएचए–३७३ उडान नम्बरको जहाज पनि मौसम खराबीकै कारण गन्तव्यमा पुग्न सकेको थिएन । ४६ जना यात्रु बोकेर भरतपुर उडेको सो जहाज साँझ ५ बजेर २५ मीनेटमा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो ।

आजै सुर्खेत उडेको बुद्धकै अर्को जहाज पनि गन्तव्य स्थानमा मौसम खराब भएपछि नेपालगञ्ज फर्काइएको छ । ५८ जना यात्रु बोकेको अपराह्न ३ बजेर २३ मीनेटमा सुर्खेतका लागि उडेको बिएचए–१३५ उडान नम्बरको जहाज चार बजेर ३८ मीनेटमा नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको जनाइएको छ ।

टिप्पणीहरू