ढाका र नयाँ दिल्लीपछि ठूलो परिमाणको विदेशी मुद्रा कोलकाता लैजान खोजियो

ढाका र नयाँ दिल्लीपछि ठूलो परिमाणको विदेशी मुद्रा कोलकाता लैजान खोजियो

काठमाडौंबाट भारतको नयाँ दिल्ली र बंगलादेशको ढाका लैजान खोजिएको अवैध विदेशी मुद्रा समातिएपछि कोलकाता लैजान लागिएको ठूलो परिमाणको विदेशी मुद्रा फेला परेको छ । आज दिउँसो पौने ३ बजे कोलकाता जान लागेका तीन जना भारतीय नागरिकको साथबाट प्रहरीले अवैध भारु, युएई दिराम र अमेरिकी डलर नियन्त्रणमा लिएको बताइएको छ । 

एअर इण्डियाको उडान नम्बर एआई २४८ बाट कोलकाता जान लागेका राजेश धमेलियाको साथबाट पाँच सय दरका भारु ३९८ थानले हुन आउने एक लाख ९९ हजार फेला परेको हो । त्यस्तै मुलचन्द बैदको साथबाट अमेरिकी डलर ४२५ र युएई दिराम तीन हजार तीन सय बरामद भएको छ । 

अर्का यात्रु विशाल राजेश बोब्देको साथबाट भारु एक लाख ६२ हजार फेला पारिएको थियो । उनीहरुलाई सुरक्षा जाँचको क्रममा लुकाएर विदेशी मुद्रा भारत लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । लगत्तै प्रहरी वृत्त गौशाला पुर्याएर आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।  

यसअघि आजै काठमाडौंबाट ढाका र नयाँ दिल्ली जान लागेका दुई जना यात्रुको साथबाट पनि ठूलो परिमाणमा भारु बरामद भएको थियो । दुबईबाट आएका एक जना भारतीयले एक दर्जन आइफोन प्रोम्याक्स र दुई सय ५० ग्राम सुनको गहना ल्याएपछि उनी पनि प्रहरीको फन्दामा परेका छन् ।

टिप्पणीहरू