ज्याक माको बास बत्तिसपुतलीमा,डिनर सातघुम्तीमा
गत असार पहिलो साता एकाएक काठमाडौं आएका चिनियाँ धनाढ्य तथा विश्वका अर्बपतिहरुमध्ये ६० नम्बरको हाराहारीमा रहेका ज्याक मा बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका थिए । दुई रात तीन दिन बिताएका उनी काठमाडौं उपत्यकाभन्दा बाहिर गएनन् ।
स्वयम्भूनाथ,बौद्धनाथ स्तुपा र भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका उनी सामान्य पर्यटकको हैसियतमा काठमाडौं छिर्ने र यहाँबाट बाहिरिने गरेका थिए । भलै उनी निजी जेट विमानमा ढाका हुँदै काठमाडौं आएर पाकिस्तानको लाहौर गए ।
नेपालका विवादास्पद व्यापारी विनोद चौधरीको रवि भवनस्थित निवासमा पुगेर चौधरीका छोरा निर्वाणसँग भलाकुसारी गरे । त्यसअघि उनी कालिमाटीको तरकारी बजारमा पनि छिरेका थिए । यता राजश्व र विदेशी मुद्रा अपचलनको आरोप लाग्दै आएको चौधरी समूहझैँ उता चीन फर्केलगत्तै ज्याकलाई चीनको केन्द्रीय बैंकले अलि पेको सेयर निश्कासन प्रक्रियामा पारदर्शीता नदेखाएको भन्दै करोडौं डलर जरिवाना तिराएको छ । दुई वर्षअघि उनको अलि पे अनलाइन बिजनेस कम्पनीलाई पनि करोडौं तिराइएको थियो ।
कारोबारमा अपारदर्शीको विशेषण पाउन थालेका ज्याक मा काठमाडौंमा छँदा खानपिनको निम्ति ठमेलस्थित एउटा चिनियाँ रेष्टुराँमा पुगेको बताइएको छ । ठमेल सातघुम्तीस्थित चोङह्वा रेष्टुराँ तथा होटलमा उनी र उनको टोलीलाई दुई दिनसम्म खानपिन गराउने मौका मिलेको रेष्टुराँको फेसबुक पेजमा उल्लेख छ ।
पेजमा रेष्टुराँ साहुजीले उनीसँग खिचेको फोटो पोष्ट गरेका छन् । उक्त फोटो साहुजीको निजी कोठामा लिइएको रेष्टुराँले जनाएको छ ।
टिप्पणीहरू