ट्राफिक सचेतनाका लागि ‘यात्रुसंग दुई मीनेट’ अभियान
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘यात्रुसंग दुई मीनेट’ ट्राफिक सचेतना अभियान शुरु गरेको छ ।
साताव्यापी जनचेतनामूलक सो अभियान आजदेखि शुरु भएको हो । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले काठमाडौंको सुन्धारास्थित बसबिसौनीमा यात्रुसंग दुई मीनेट कुराकानी गरेर अभियानको औपचारिक शुरुवात गरे ।
साथै, यात्रुहरुलाई सन्देशमूलक सामग्रीसमेत वितरण गरिएको छ। गाडी पूर्ण रुपमा नरोकिँदै नओर्लिन, जथाभावी सवारी साधन नचढ्न, सवारी साधनको झयाल–ढोकाबाट हात ननिकाल्न कार्यालयले आग्रह गरेको छ ।
त्यसले सवारी दुर्घटना हुँदै आएको जानकारी गराउँदै कार्यालयले मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाएको शंका लागेमा, तोकिएकोभन्दा बढी भाडा सहचालकले असुलेमा, आरक्षण सीटको पालना नगरेमा प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सुसूचित गराएको छ ।
त्यस्तै, सार्वजनिक यातायातमा पकेटमारबाट बच्न, पैदल हिँड्दा वा बाटो काट्दा सचेत हुन भनिएको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकमा ब्यानर टाँसेर प्रदर्शनसमेत गरिएको जनाइएको छ । यात्रुको आवतजावत बढी हुने स्थानलाई मध्यनजर गरेर थालिएको अभियान आगामी साउन १० गतेसम्म चल्नेछ ।
टिप्पणीहरू